प्राकृतिक विपद र कोरोना महामारीको सम्भावित संकट रोक्न सरकारको तयारी कस्तो छ त ?

असार २३, २०७७

बर्खा लागेपछि प्राकृतिक विपदका घटना बढेका छन् । त्यसमाथि कोरोना महामारीको जोखिम उत्तिकै छ । खासगरी सामुदायिक विद्यालय र सार्वजनिक स्थलहरु क्वारेन्टिन र आइसोलेसन स्थल बनाइएकाले अरू विपद न्यूनीकरण, उद्दार र राहत व्यवस्थापनमा झन् कठिनाइ हुने देखिएको छ । यो अवस्थामा सम्भावित संकट रोक्न सरकारको तयारी कस्तो छ त ?जेठ ३० गतेयता मात्रै बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद्का २ सय ५६ घटना भएका छन् । ती घटनामा ५९ जनाको ज्यान गएको छ भने करिब १५ करोड बराबरको क्षति भएको सरकारी अनुमान छ । पर्वत, गुल्मी, बझाङ लगायतका जिल्लामा गएको पहिरोले आसपासका सयौं घर जोखिममा छन् । तर स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्न ढिलाइ भइरहेको छ। लगातारको झरी र त्यसपछि बाढी पहिरो र खासगरी तराई क्षेत्रमा डुवानको खतरा त बाँकी नै छ । तर प्राकृतिक विपदबाट हुने क्षति कम गर्न सरकारी पूर्वतयारी भने कमजोर देखिन्छ ।विगतमा विपदमा परेकाहरुको उद्धार तथा राहतका लागि विद्यालय र सामुदायिक भवनहरु प्रयोग हुन्थ्यो । तर यसपालि ती संरचना कोरोना महामारीका कारण कतै क्वारेन्टिन र कतै आइसोलेसनमा परिणत गरिएका छन् । एकातर्फ प्राकृतिक विपत्ति, अर्कोतर्फ कोरोना महामारीको जोखिम । त्यसैले पनि यो वर्ष विपद् पिडितहरुलाई कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती सरकारसामु छ । प्राकृतिक प्रकोप रोक्न त सकिन्न । तर समयमै सावधानी र पूर्वतयारी गर्ने हो भने क्षति कम गर्न सकिन्छ । अझ कोरोना महामारीको यो अवस्थामा व्यवस्थापनमा हेलचेक्र्याइँ गरियो भने थप महामारी निम्तिन सक्छ । त्यसैले प्राकृतिक विपदको सम्भावित क्षति कम गर्न पर्याप्त तयारी र सावधानी अपनाउन कत्ति पनि ढिला गर्नुहुन्न  ।