भारतीय तटबन्ध र सडकका कारण १६ जिल्ला डुबानको उच्च जोखिममा

असार २३, २०७७

विहीबारदेखि देशैभर भारी बर्षा भइ बाढी आउने र तराईका जिल्ला डुबानमा पर्ने भन्दै मौसम पूर्वानुमान माहाशाखाले सर्तकता अपनाउन भनेको छ । खासगरी सीमा क्षेत्रका तटबन्ध र भारतले एकपक्षीयरूपमा निर्माण गरिरहेका सडकका कारण १६ जिल्ला डुबानको उच्च जोखिममा छन् । तर यो समस्या समाधानका लागि सरकारले ठोस पहल गरेको छैन ।यसपटक मनसुन सुरु भएयता भारी मात्रामा वर्षा भएको छैन । जसका कारण अहिलेसम्म बाढी र डुबानको खासै समस्या देखिएको छैन । मौसम पूर्वानुमान महाशाखाले  बिहीबार रातिदेखि आइतबारसम्म भारी वर्षा भइ खासगरी ठूला नदी आसपासका जिल्ला डुबानमा पर्ने प्रक्षेपणसहित पूर्वतयारीमा जुट्न भनेको छ । महाशाखाका अनुसार १ सय ५० देखि २ सय मिलिमिटरसम्म बर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले डुबानको खतरा औंल्लाइरहँदा भारतसँग सीमा जोडिएकामध्ये १६ जिल्ला उच्च जोखिममा छन् । खासगरी भारतले एकतर्फी रुपमा बनाएका सडक लगायत संरचनाका कारण मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, रौतहट लगायत जिल्लामा डुबानको जोखिम भएको हो । दुवै देशको सहमतिमा बनाइएका बाँध सञ्चालनमा भारतले गरेको एकलौटी र दशगजा क्षेत्रमा बनाइएका सडकले डुबानको जोखिम रहेको राष्ट्रिय मानव अधिकार आयोगले यसअघि नै औंल्याइसकेको छ । गृह मन्त्रालयले एकपक्षीय रुपमा भइरहेको सडक विस्तार रोक्नका लागि भारतसँग कुटनीतिक तहमा वार्ता गर्न भने पनि परराष्ट्र मन्त्रालयले नतिजा देखिने गरी काम गर्न सकेको छैन । 

तराईका जिल्ला वर्षायाममा वर्षेनि डुबानमा  पर्दै आएका छन् । सरकारले भारतसँग  ठोस वार्ता गर्न नसक्दा डुबानको समस्या वर्षेनि दोहोरिंदै आएको छ ।