प्रवासी नेपाली : नयाँ पुस्ताले अपनाउलान् त नेपाली भाषा संस्कृति ?

भाद्र १, २०७६

कसैका आमा नेपाली, बाबु विदेशी छन् त कतिका बाबु नेपाली आमा विदेशी । बाबुआमा दुवै नेपाली भए पनि नेपाल नै नदेखेका बालबालिका पनि धेरै छन् । तर न परिवारमा हर क्षण नेपाली भाषा बोलिन्छ, न त नेपाली भाषा बोल्ने समुदाय नै सजिलै भेटिन्छ । जसका कारण प्रवासी नेपालीलाई आफ्ना 

छोराछोरीलाई नेपाली भाषा संस्कृति सिकाउन मुस्किल भइरहेको छ । 

विदेशमा जन्मिएको दोस्रो पुस्तालाई प्रवासमै नेपाली वेशभूषा र कला संस्कृति सिकाउन प्रयासै नभएको भने होइन । नेपाली भाषा फरर बोल्न नसके पनि आक्कलझुक्कल हुने जमघटमा भने प्रवासी नेपालीका सन्तान आफूलाई नेपाली भनी परिचित गराउँछन् । त्यति मात्र होइन, स साना

बालबालिकाले नेपाली पहिरनमा तोते लवजमा नेपालीमा आफ्नो परिचय दिंन्छन् । यिनले बुद्ध नेपालमा जन्मिएका हुन्, नेपाल सगरमाथाको देश , नेपालको माया छ भन्दा धेरै नेपाली अभिभावक पनि खुसी हुन्छन् । अध्ययन, व्यवसाय वा रोजगारीका बाध्यताले विश्वभर फैलिएको नेपाली समुदायको दोस्रो पुस्ता नेपालीपनबाट टाढिंदै जानु पक्कै पनि सुखद होइन । दोस्रो पुस्तालाई नेपाल र नेपालीपनसँग जोडिरहन अभिभावककै भूमिका आवश्यक छ ।