जलवायु परिवर्तनले हिमाली जिल्लाको कृषिमा सकारात्मक असर !

भाद्र १, २०७६

कुनै बेलासम्म जुनेलो, फापर र जौ मात्र फल्ने हिमाली जिल्ला हुम्लामा विस्तारै नयाँ फलफुल तथा बाली पनि फल्न थालेका छन् । सुन्तला, कागती, मकै, कोदो, खुर्सानी र गोलभेडा समेत फल्न थालेपछि किसान हषिर्त छन् । त्यति मात्रै होइन, समुन्द्री सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको जिल्ला सदरमुकाम सिमकोटमा काँक्रा र भन्टासमेत उत्पादन हुन्छन् ।

 अन्य हिमाली तथा पहाडी जिल्लामा पनि नयाँ बाली तथा फलफुल उत्पादन हुन थालेका छन् । वैज्ञानिकहरुका अनुसार तापक्रम वृद्धिसँगै उच्च भेगमा यस्तो परिवर्तन देखिए पनि यो एकैचोटी भएको भने होइन । जलवायु परिवर्तनले देखाएको यस्तो परिवर्तन वर्षौ समयको अन्तरालमा भेटिएको छ ।

उच्च हिमाली भेगमा तापक्रम वृद्धिसँगै जाडो याममा कम हिउँ पर्दा बाली पनि चाँडै पाक्न थालेको अध्ययनहरुले देखाएका छन् । 

जलवायु परिवर्तनको दीर्घकालीन बेफाइदा धेरै भए पनि उच्च पहाडी क्षेत्रमा देखिएको यो परिवर्तनले स्थानीयहरु भने खुसी देखिएका छन् ।