आश मारेका छोरा १८ वर्षपछि घर फर्कदा...

भाद्र १, २०७६

 

रुकुम पश्चिमको सानीभेरी ११ ठारिखोर्यामा रहेको यो घरमा यतिबेला छुट्टै रौनक छ  । तत्कालीन माओवादी युद्धमा लागेका उमेश वि.क. १८ वर्षपछि घर फर्केर आएपछि पारिवारमा खुसी छाएको हो  । 

१३ वर्षको उमेरमा माओवादीमा लागेका उनी २०५९ चैतमा भएको खारा आक्रमणबाट बेपत्ता भएका थिए । खाराको लडाईमा बमको छर्राले लागेर घाईते भएका उनी त्यही अवस्थामा हिडेर बन जंगल छिचोल्दै दिल्ली पुगेको बताउछन् ।  

उमेशले भारतमै  बिहे गरे। अहिले उनको परिवारमा श्रीमती तथा ११ र ७ वर्षका दुई छोरा छन् । 

आमा मनकुमारी विकलाई माया मारेको छोरा घर फर्किएपछि महासागरै फर्किएको अनुभूति भएको छ । लडाईमा मरिसकेको ठानेको सन्तानलाई फेरि देख्न पाउादा उनको हर्षको सीमा छैन। 

फर्किएको व्यक्ति आफ्नै छोरा हो भन्ने खुट्ट्याउन भने मनकुमारीलाई सुरुमा निकै गाह्रो भयो । उमेशले खुट्टामा गोलीको खत देखाएपछि पत्याईन् । मनकुमारीका दुई छोरा, तीन छोरीसमेत ५ सन्तान मध्ये उमेश कान्छा हुन् ।सानैमा हराएको मान्छे एक्कासी घर फर्किपछि यतिबेला उमेशको घरमा उनलाई भेट्न आउने आफन्त र छरछिमेकको भिडलाग्ने गरेको छ । 

तत्कालीन माओवादी र राज्यबीचको द्वन्द्वका बेला  बिभिन्न कारणले रुकुम पश्चिम र पूर्वबाट गरी धेरै जना वेपत्ताको सुचीमा छन् । हराएका आफन्त फर्केर आउछन् कि भन्ने आशमा बसेका सबै पारिवारका लागि उमेशले अरुलाई पनि आशा जगाएका छन्  । वेपत्ताहरुको खोजी र अवस्था जानकारी गराउनु राज्यको प्रमुख दायित्व हो ।