दाङका अग्निपीडित भन्छन्- गाउँ नै खरानी भयो, पिउने पानीसमेत छैन (स्थलगत रिपोर्ट)

वैशाख १८, २०८१ |अमर क्षितिज भण्डारी
दाङका अग्निपीडित भन्छन्- गाउँ नै खरानी भयो, पिउने पानीसमेत छैन (स्थलगत रिपोर्ट)

दाङ । राजपुर गाउँपालिका वडा नम्बर-७ हाडबासमा बैसाख १७ गते भएको आगलागीका पीडितहरु खुला आकाशमुनि रात काट्न बाध्य छन् । राप्ती नदी पारी राजपुर गाउँपालिकाको हाडबास पुग्न सहज सडक छैन । आगलागीका समयमा गएको दमकल घटनास्थलसम्म पुग्न सकेन जसका कारण पुरै गाउँ खरानी भयो । सडक नहुँदा पीडितका लागि पठाइने राहत पनि राप्ती नदीमा भएको एक मात्र डुंगाबाट लैजानु पर्ने बाध्यता छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र केही गैरसरकारी संस्थाहरुले तत्कालका लागि त्रिपाल र खानेकुराको व्यवस्था गरे पनि आगलागी पीडितको व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो छैन ।

आगालागीले हाडवास पुरै गाउँलाई खरानी बनायो । आइतबार दिउँसो लागेको आगोले खरानी बनाएको हाडबास गाउँमा अहिले पनि घरका भित्ताबाट धुँवा पुत्ताइरहेको छ भने घर छेउका रुखका हाँगामा अझै आगो बलिरहेको छ ।

दमकल पुग्न नसकेपछि आगोलागी पूर्ण रुपमा नियन्त्रणमा आउन सकेन । घरभित्रबाट मुस्किलले बाहिर निकालिएका सामान र ओत लाग्न दिइएका त्रिपालमा समेत आगो सल्किने हो कि भन्ने उल्टै पिर छ । आगोले घर बास, धन सम्पत्ति सबै खरानी भएपछि स्थानीयका गह ओभाएका छैनन् । गहभरी आँसु र सुस्केरा हाल्नु बाहेक विकल्प रहेन ।

राप्ती नदीको किनारमा भए पनि हाडबास गाउँसम्म पुग्ने राम्रो बाटो छैन । दमकल पनि गाउँसम्म पुग्न सकेन । बीच बाटोबाटै दमकल फर्किंदा गाउँमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेन ।

आगो निभाउन चाहिने पानी मात्र होइन धाराका लागि विस्तार गरिएका पाइप जलेपछि पिउने पानीको समेत अभाव छ । आगलागीका कारण बस्ती नै सखाप भएपछि तत्काल राहत र पुनर्स्थापनाका लागि स्थानीय सरकारले पहल थालेको छ ।

गर्मी मौसम, त्यसमा पनि सुख्खा खडेरी र वन जंगलमा फैलिएको डढेलो बस्तीमा फैलिँदा आगोलागीका घटनाहरु बढिरहेका छन् । आगोलागी हुन नदिन र भइहाले त्यसबाट हुने हानि-नोक्सानी कम गर्न विपत प्रतिकार्यका अभ्यासमा जोड दिन आवश्यक देखिन्छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।