क्याम्पिङ पर्यटनले पश्चिम तराईमा पर्यटकको चहलपहल बढ्दो

वैशाख २०, २०८१ |मनोज पौडेल
क्याम्पिङ पर्यटनले पश्चिम तराईमा पर्यटकको चहलपहल बढ्दो

बर्दिया । प्राकृतिक वातावरणमा रमाएर वन्यजन्तु अवलोकन गर्न जंगलमै बस्ने क्याम्पिङ पर्यटनको आकर्षण बढ्न थालेको छ । सरकारले निकुञ्जभित्रका होटल/रिर्सोट सञ्चालन गर्न नदिने निर्णय गरेपछि सन् २०१२ देखि बन्द भएको क्याम्पिङ पर्यटनले अहिले फेरि गति लिन थालेको हो । बर्दिया राष्ट्रिय निकुञ्जको लालमाटी र बबई भ्यालीमा टेन्ट टाागेर क्याम्पिङ गर्दै पर्यटक रमाउन थालेपछि चहलपहल बढेको छ ।

बेलायती संसद्को माथिल्लो सभा हाउस अफ लर्डस्का सदस्य राल्फ विलियम रोबर्ट स्टोनर बर्दिया निकुञ्जको गुठीमा ३ रात ४ दिन क्याम्पिङ गरेर फर्किए । त्यसको अर्का साता ११ जना विदेशी लालमाटीमा क्याम्पिङ गर्न पुगे । बर्दिया निकुञ्जले क्याम्पिङका लागि छुट्याएको लालमाटीमा २६ र बबईमा १८ समूहले यो वर्ष क्याम्पिङ गरे । एक समूहमा ५ देखि १६ जनासम्म हुन्छन् । गत वर्ष दुवै ठाउँमा २० समूहले क्याम्पिङ गरेका थिए ।

इन्साइट हिमालय ट्रेक कम्पनीले मात्रै यस वर्ष लालमाटी र गुठीमा ३७ जना विदेशी ल्याएर ३ रात चार दिनको टेन्टेड क्याम्पस सञ्चालन गर्‍यो । यो कम्पनीले बेलायती राजदरबारका कर्मचारीदेखि पूर्वमन्त्री, प्रशासक र व्यापारीलाई यहाँ ल्याउने गरेको छ ।

क्याम्पिङका लागि आउने पर्यटक सााँझ बिहान बढी हुने वन्यजन्तुको गतिविधि आँखैअघि हेर्छन् । छेउको कर्णाली नदीमा बाघ, गैंडा, चितुवालगायतका वन्यजन्तुले पानी पिएको र आहाल बसेको हेर्दै रोमाञ्चित हुन्छन् । वनमा रातिको बासमा हुने डरसँगै प्रकृतिसँग रमाउँछन् ।

यसरी क्यापिङ गर्ने विदेशीको टेन्ट घरजस्तै सुरक्षित हुन्छ । सुत्ने कोठादेखि भान्सासम्मका आधारभूत सामग्रीको जोहो गरिएको हुन्छ । नजिकै कपडाले बेरेर शौचालय बनाइएको हुन्छ । बत्ती बाल्न र ग्याजेट चार्ज गर्न सोलार प्यानल व्यवस्था गरिन्छ । टेन्ट वरिपरि वन्यजन्तु नआउन भनेर राति लहरै लालटिन बालिन्छ । हेर्दा टेन्ट भए पनि रिसोर्ट स्तरको सुविधा हुन्छ ।

क्याम्पिङका लागि पर्यटकको संख्या हेरेर कम्पनीले जनशक्ति व्यवस्थापन गर्छ । उनीहरुका सुरक्षाका लागि रिटायर्ड सुरक्षाकर्मी, चराविद्, नेचर गाइड र समग्र गतिविधि निगरानीका लागि निकुञ्जबाट एक जना सम्पर्क अधिकृत पनि खटिन्छन् । क्याम्पिङका लागि आउने पाहुना धनाढ्य हुनाले खिर्चिला हुन्छन् । उनीहरुलाई आकषिर्त गर्न सकियो भने नेपालको पर्यटन प्रवर्द्धन हुन्छ । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।