इटालियन ओपन टेनिसको पहिलो खेलमा रफायल नाडालको पुनरागमन जीत

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इटालियन ओपन टेनिसको पहिलो खेलमा रफायल नाडालको पुनरागमन जीत

काठमाडौं । रफायल नाडालले इटालियन ओपन टेनिसको आफ्नो पहिलो खेलमा पुनरागमन जीत हात पारेका छन् । फ्रेन्च ओपनको तयारीमा रहेका स्पेनिस नाडालले, बेल्जियन क्वालिफायर जिजु ब्यागिजलाई तीन सेटमा पराजित गरेका हुन् ।

इटलीको राजधानीमा रोममा भएको खेलमा पूर्व नम्बर एक नाडालले सुस्त सुरुवात गर्दै पहिलो सेट गुमाए । २४ वर्षीय जिजुले पहिलो सेटमा ३७ वर्षका नाडाललाई ६-४ ले पराजित गरेका थिए । तर खेलमा पुनरागमन गर्न माहिर नाडालले बाँकी दुई सेटमा उत्कृष्ट खेल प्रदर्शन गरे । दर्शक दीर्घामा मेडिकल इमरजेन्सी परेपछि खेल केही समय रोकिएको थियो । पुन सुचारु भएको खेलमा नाडाल निकै सहज देखिए । 

२२ पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले दोस्रो सेट विश्व वरियताको एक सय आठौँ स्थानमा रहेका जिजुविरुद्ध ६-३ ले आफ्नो पक्षमा पारेका थिए । तीन घण्टासम्म चलेको खेलको तेस्रो सेटमा उनले ६-४ को जीतका साथ दोस्रो चरणमा स्थान सुरक्षित गरे । नाडाल कीर्तिमानी दश पटकका इटालियन ओपन च्याम्पियन  हुन् ।  

उनले पछिल्लो पटक सन् २०२१ मा इटालियन ओपन जितेका थिए । अब उनले  पोल्यान्डका सातौँ वरियता प्राप्त हुबर्ट हुर्काजसँग खेल्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.