पन्जाब किंग्स रोयल च्यालेन्जर्स बैङलुरुसँग ६० रनले पराजित भएसँगै आईपीएलको प्ले अफ दौडबाट बाहिरियो

कोहलीको विस्फोटक इनिङ्स
बैङलुरुको प्ले अफ आशा जीवितै
वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पन्जाब किंग्स रोयल च्यालेन्जर्स बैङलुरुसँग ६० रनले पराजित भएसँगै आईपीएलको प्ले अफ दौडबाट बाहिरियो

काठमाडौं । उत्कृष्ट ब्याटिङ र फिल्डिङको मदतमा रोयल च्यालेन्जर्स बैङलुरुले इन्डियन प्रिमियर लिग आइपिएलमा पन्जाब किंग्सलाई ६० रनले पराजित गरेको छ । लगातार चौथो जीत हात पारेसँगै बैङलुरुको प्ले अफ सम्भावना जीवितै रहँदा पन्जाब भने लिग चरणबाटै बाहिरियो ।

धर्मशालामा पंजाबले टस जितेर फिल्डिङ रोजेको थियो । बैङलुरुले २० ओभरमा सात विकेट गुमाएर २ सय ४१ रनको योगफल  बनाउँदा विराट कोहलीले विस्फोटक इनिङस खेले । ओपनर  तथा कप्तान फाप डु प्लेसिस ९ र विल ज्याक्स १२ रनमा आउट भएका थिए । सुरुवातमै कोहलीको क्याच ड्रप गर्नु पन्जाबका लागि महँगो साबित भयो । 

दुई पटक पाएको जीवनदानलाई कोहलीले भरपुर सदुपयोग गरे । तेस्रो विकेटका लागि कोहली र रजत पाटिदारले ७६ रनको साझेदारी गरे । दश ओभरपछि वर्षाका कारण केही समयका लागि खेल रोकिएको थियो । तर पानीले खेललाई असर गरेन । पाटिदारले २३ बलमा ५५ रन जोडे । कोहलीले ४७ बलमा ९२ रनको योगदान गरे । क्यामरुन ग्रिनले ४६ र दिनेश कार्तिकले १८ रन थपे । हर्षल पटेलले तीन विकेट लिए । 

जवाफमा पन्जाब १७ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । उसका लागी राइली रस्सोले ६१  र शसांक सिंहले ३७ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । मोहम्मद सिराजले तीन, लक्की फुर्गसन, स्वप्निल सिंह र कर्ण शर्माले दुई दुई विकेट लिए । बैङलुरु १२ खेलबाट १० अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ ।

प्ले अफ दौडबाट बाहिरिएको पंजाब १२ खेलबाट ८ अंक सहित नवौँ स्थानमा छ ।  आईपीएलमा आज गुजरात टायटन्स र चेन्नाई सुपर किंग्स बीच खेल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.