उत्कृष्ट पुनरागमन जितसहित रियाल मड्रिड च्याम्यिन्स लिगको फाइनलमा

१४ पटकको च्याम्पियन रियालले फाइनलमा बोरुसिया डर्टमन्डसँग खेल्ने
वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्कृष्ट पुनरागमन जितसहित रियाल मड्रिड च्याम्यिन्स लिगको फाइनलमा

काठमाडौं । बायर्न म्युनिखविरुद्ध अविश्वसनीय जित हात पार्दै स्पेनिस क्लब रियाल मड्रिड युएफा च्याम्यिन्स लिगको फाइनलमा प्रवेश गरेको छ । खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियालले जर्मन टोली बायर्नजिरुद्ध दोस्रो लेगमा २-१ र समग्रमा ४-३ को जितसहित फाइनलमा स्थान सुरक्षित गरेको हो । एक गोलले पछि परेको अवस्थामा वैकल्पिक खेलाडीको रुपमा ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले ३ मिनेटको अन्तरालमा २ गोल गरेपछि रियाल नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

रियालको मैदान सान्टियागो बर्नाबेउमा पहिलो हाफ दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । ६८ औं मिनेटमा इंग्लिस कप्तान हृयारी केनको पासमा सब्सिट्युट खेलाडी अल्फोन्सो डेविसले गोल गर्दै भ्रमण टोलीलाई अग्रता दिलाए । डेविस २७ औं मिनेटमा सर्ज गन्याब्रीको स्थानमा मैदान प्रवेश गरेका थिए । ७१ औं मिनेटमा रियालका कप्तान नाचोको प्रहारले टारगेट हिट गरेपनि गोलको मान्यता पाउन सकेन । उनले जोशुवा किमिचमाथि गरेको फाउलका कारण गोल रद्द भएको थियो ।

८८औं मिनेटमा रियालका लागि जोसेलुले गोल गर्दै खेल बराबरीमा फर्काए । इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले एन्टनियो रुडीगरको क्रसमा दोस्रो गोल गरे । सुरुवातमा रेफ्रिले अफसाइडको निर्णय गरे पनि भिएआरले रेफ्रिको निर्णय बदर गरेपछि रियल विजयी भयो । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेगमा दुबै टिमले २-२ को बराबरी खेलेका थिए । तर दोस्रो लगमा भने बायर्नले अग्रता जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो । रियाल समग्रमा ४-३ को नतिजासहित फाइनलमा प्रवेश गर्‍यो ।

१४ पटकको च्याम्यिन रियालले अव उपाधिका लागि जुन २ मा अर्को जर्मन टोली बोरुसिया डर्टमन्डसँग खेल्नेछ । डर्टमन्डले पहिलो सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन पिएसजीलाई समग्रमा २-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.