उपाधि जित्ने पीएसजीको ५४ वर्षदेखिको सपना अधुरै

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपाधि जित्ने पीएसजीको ५४ वर्षदेखिको सपना अधुरै

काठमाडौं । क्लब इतिहासको ५४ वर्ष बितिसक्दा पनि पेरिस सेन्ट जर्मेन पीएसजी युरोपियन च्याम्पियन बन्न सकेको छैन । यस पटक पनि सेमिफाइनलमा बोरुसिया डर्टमण्डसँग पराजित भएपछि पीएसजीको पहिलो च्याम्पियन्स लिग ट्रफी जित्ने सपनामा धक्का लागेको छ । क्लबले नेयमार, मेस्सी र एमबाप्पे जस्ता स्टार खेलाडीलाई टिममा सामेल त गर्‍यो तर, मार्सेपछि फ्रान्समा च्याम्पियन्स लिग ट्रफी भित्र्याउने उसको सपना पूरा हुन सकेन । यो सिजनको अन्त्यसँगै एमबाप्पे पेरिस छाडेर मड्रिड जाँदै छन् । यसले पीएसजीको च्याम्पियन्स लिग जित्ने सपनामा थप धक्का पुग्न सक्छ ।

मोनाकोलाई २०१६/१७ सिजनको लिग वान जिताउन प्रभावशाली प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले केलियन एमबाप्पेलाई क्लबमा भित्र्यायो । एमबाप्पेकै प्रदर्शनमा सोही सिजन मोनाको च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो । एमबाप्पेसाग हस्ताक्षर गर्नुअघि पीएसजीले नेयमारलाई लिग वानकै कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट भित्र्याइसकेको थियो ।

२०२२ मा पीएसजीले प्रतिहप्ता १ मिलियन पाउण्डमा एमबाप्पेसागको सम्झैता विस्तार गर्दा उनी विश्वकै धेरै कमाउने फुटबलर बने । २०२१ मा क्लबले मेस्सीलाई पनि टिममा सामेल गर्‍यो । पीएसजीले खेलाडीका लागि यति धेरै पैसा खर्च गर्नुको पछाडी उसको च्याम्पियन्स लिग जित्ने महत्वाकांक्षा थियो । तर एमबाप्पे, नेयमार र मेस्सीको घातक ट्रायोले पनि पीएसजीलाई च्याम्पियन्स लिग जिताउन सकेन । यसअघि पीएसजीले रोनाल्डिन्हो, थियागो सिल्भा, डि मारिया, काभानी र इब्राहिमोभिच जस्ता श्रेष्ठ खेलाडी पनि परीक्षण गरेको थियो । तर यी सबै खेलाडीले पीएसजीलाई घरेलु लिग मात्र जिताउन सके ।

अहिले विश्व फुटबलका सबैभन्दा प्रभावशाली स्ट्राइकर एमबाप्पे यस सिजनको अन्त्यपछि स्पेनिस क्लब रियाल मड्रिड जाँदै छन् । पीएसजीबाट युरोपियन कपको उपाधि नउठाएर फ्रेन्च कप्तान एमबाप्पेले क्लब छाड्दा पीएसजीको युरोपियन च्याम्पियन बन्ने सपनामा थप धक्का लाग्ने आँकलन गरिएको छ । डर्टमण्डविरुद्ध एम्बाप्पेलाई टोलीमा राख्दा र खेल अवभिर ३० सट प्रहार गर्दासमेत पीएसजीले गोल गर्न सकेन । यो प्रदर्शनले लुइस एनरिकको टोली पछिल्लो २० बर्ष यता च्याम्पियन्स लिगमा सबैभन्दा बढी सट प्रहार गरे पनि गोल गर्न नसक्ने टोली बन्यो । घरेलु मैदानमा पीएसजीले गरेका ४ प्रहार वुडवर्कमा लागे । जुन च्याम्पियन्स लिगको नकआउट टाईमा सबैभन्दा धेरै हो ।

क्लबले स्टार खेलाडीमा ठूलो लगानी गरे पनि च्याम्पियन्स लिगमा भने निराशाजनक नतिजामात्र हात पारेको छ । उसले हालसम्म ५ पटक अन्तिम १६, ४ पटक क्वाटरफाइनल र २ पटक सेमिफाइनल खेलेको छ । एक पटक फाइनलसम्म पनि पुग्यो । तर मार्सेपछि फ्रान्समा च्याम्पियन्स लिग ट्रफी भित्राउने उसको सपना हालसम्म पूरा हुन सकेको छैन । पीएसजीले यस सिजन पनि लिग वानको उपाधि जितेको छ । मे २५ मा कोपा डे फ्रान्सको फाइनलमा लियोनसाग खेल्दा क्लब सिजनमा दोहोरो उपाधि जित्ने लक्ष्य राख्ने छ । यो नै एमबाप्पेले मड्रिड जानुअघि पीएसजबाट खेल्ने अन्तिम खेल हुने सम्भावना छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.