लगातार तेस्रो जित हात पार्दै कोलकाता नाइट राइडर्स आईपीएलको शीर्ष स्थानमा

लखनउ सुपर जायन्ट ९८ रनको फराकिलो अन्तरले पराजित
वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
लगातार तेस्रो जित हात पार्दै कोलकाता नाइट राइडर्स आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । कोलकाता नाइड राइडर्स, लखनउ सुपर जायन्टलाई ९८ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग- आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जितसँगै प्ले अफमा कोलकाताको स्थान लगभग पक्का भएको छ ।

एकाना स्टेडियममा के एल राहुलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । कोलकाताले सुनिल नरायनको विस्फोटक ब्याटिङको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३५ रनको योगफल बनाएको थियो । फिल सल्ट र नरायनले  चार दशमलव दुई ओभरमा ६१ रनको ओपनिङ साझेदारी गरे । 

सल्टले १४ बलमा ३२ रन जोडे । नरायनले ८१ रनको योगदान गरे । ३९ बल खेलेका उनले ६ चौका र ७ छक्का प्रहार गरेका थिए । आन्द्रे रसेलले १२, अंगकृष रघुवंशीले ३२ र रिंकु सिंहले १६ रन बनाएका थिए । कप्तान श्रेयस ऐअर २५ रनमा आउट भए । रन्दीप सिंह ६ बलमा २५ रन बनाएर अविजित रहे । नभिन उल हकले तीन विकेट लिए । 

जवाफमा लखनउ १६ दशमलव १ बलमा १ सय ३७ रनमा अल आउट भयो । के एल राहुलले २५ र मार्कस स्टइनिसले ३६ रन जोडे । बाँकी कसैले पनि २० रनको आँकडा पार गर्न सकेनन् । हर्षित राना र बरुण चक्रवर्तीले तीन-तीन तथा आन्द्रे रसेलले दुई विकेट लिए । मिचेल स्टार्क र नरायनले एक एक विकेट बाँडे । शीर्ष स्थानमा रहेको कोलकाताको ११ खेलबाट १६ अंक छ । 

लखनउ १२ अंकसहित पाँचौं स्थानमा छ । दश खेलबाट १६ अंक जोडेको राजस्थान रोयल्स दोस्रो र एघार खेलबाट १२ अंक बनाएको चेन्नई सुपर किंग्स तेस्रो स्थानमा छन् । चौथो स्थानको सनराइजर्स हैदराबादको १२ अंक छ । उसले दश खेल खेलेको छ । 

सनराइजर्सले आज मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.