रियललाई स्पेनिस ला लिगाको उपाधि

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
रियललाई स्पेनिस ला लिगाको उपाधि

काठमाडौं । रियल मड्रिडले कीर्तिमान विस्तार गर्दै ३६ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले ४ खेल अगावै यस सिजनको ला लिगाको उपाधि जितेको हो ।

खेलको तेस्रो मिनेटमा आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेट पछि नै आर्टेम डोभबिकले जिरोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफको अतिरिक्त समयमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा बार्सिलोनाले तीन गोल बेहोर्‍यो ।

६५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै खेल २-२ को बराबरी अवस्थामा पुर्‍याए । ६७औं मिनेटमा मिगेल गुटीएरेज र ७५औं मिनेटमा पोर्टुले गोल गर्दै जिरोनालाई ४-२ को जित दिलाए । जिरोनाले बार्सिलोनालाई पराजित गरेसँगै रियल ला लिगा च्यम्पियन बन्यो । रियलले कीर्तिमानी ३६ औं पटक ला लिगा जितेपछि उसका समर्थकहरुले मड्रिड सहरमा विजय उत्सव मनाए । २७ पटकको लिग विजेता बार्सिलोनाले भने उपाधि रक्षा गर्न सकेन । जिरोना भने पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको छ ।

रियालले गएराति नै सम्पन्न खेलमा काडिजलाई ३-० ले पराजित गरेको थियो । रियालको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले १-१ गोल गरेका थिए । रियलको ३४ खेलमा ८७ अंक रहेको छ । जिरोना ७३ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.