कहिले कुन-कुन दल, किन फुटे ? (यस्तो छ दलविभाजनको नालीबेली)

वैशाख २६, २०८१ |दशरथ राई
कहिले कुन-कुन दल, किन फुटे ? (यस्तो छ दलविभाजनको नालीबेली)

काठमाडौं । सत्ता स्वार्थकै लागि दलहरू फुट्नु र जुट्नु नेपाली राजनीतिको निरन्तरता जस्तै बनेको छ । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहित क्षेत्रीय राजनीति गर्ने भन्दै स्थापित अधिकांश दल विभाजनको चपेटामा परेका छन् । अझ २०६२/६३ पछि त सत्ता र शक्तिकै लागि दलहरू फुट्ने क्रम तीव्र छ । फुटेपछि केहीको अस्तित्व नै सकिएको छ भने कतिपय सत्ता र शक्तिकै आडमा टिकेको देखिन्छ । अहिलेकै सरकार बनेपछि पनि दुईवटा दल टुक्रिए । 

२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि सत्ता र शक्तिको दाउपेचमा लाग्दा दल विभाजनको श्रृङ्खला २०५४ सालबाट सुरु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले विभाजनसँगै सुरु भएको दलहरू फुट्ने क्रम नेपाली कांग्रेस, कम्युनिस्ट, मधेस केन्द्रीत देखि पछिल्लो पटक जनता समाजवादी पार्टीसम्म आइपुगेको छ । 

नेपाली कांग्रेस २०५९ सालमा विभाजित भएको थियो । त्रिशङ्कु संसद्, अल्पमतको सरकार, भागबन्डाको राजनीतिले निरन्तरता पाउँदासमेत दल विभाजन रोकिएन । अझ २०६२/६३ को जनआन्दोलनपछि १० वर्ष सशस्त्र संघर्ष गरेर संसदीय राजनीति हुँदै सत्तामा आएको नेकपा माओवादी नै २०६९ साल असार ४ मा विभाजित भयो ।

मोहन वैद्य नेतृत्वमा नेकपा माओवादी केन्द्र गठन भयो । वैद्य समूहका नेत्रविक्रम चन्दले फेरि दल विभाजन गर्दा माओवादीको मूलधार भने सत्ताकै वरिपरि बसिरह्यो । २०७३ जेठ १ मा रामबहादुर थापालगायतका नेताले नेकपा माओवादी केन्द्र विभाजन गर्नुभयो ।

२०६२/६३ को लोकतान्त्रिक आन्दोलन पछि तराईको सशक्त मानिएको दल सद्भावना पार्टी विभाजित भयो । २०६४ मा राजेन्द्र महतो लगायतले नयाँ सद्भावना पार्टी स्थापना गरे । २०६५ मा आनन्दीदेवी सिंह नेतृत्वको सद्भावना फेरि विभाजन भयो । सरिता गिरीको समूहले नयाँ पार्टी गठन गर्‍यो ।

२०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि तराईमा सुरु भएको आन्दोलनबाट उदाएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम पटकपटक विभाजित भयो । २०६४ साल पुस १३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी गठन भएपछि उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन हुन थालेको हो ।

२०६४ भदौमा भाग्यनाथ गुप्ताले पार्टी विभाजन गरेर मधेसी जनअधिकार फोरम, मधेस गठन गर्नुभयो भने अमर यादवले २०६५ चैतमा फोरम विभाजन गरी मधेस-तराई फोरम गठन गर्नुभयो ।

उपेन्द्रको पार्टीमा विभाजनको क्रम रोकिएन । २०६६ जेठमा विजयकुमार गच्छदार नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन भयो । तर २०६९ असारमा यो पार्टी विभाजित भयो र शरदसिंह भण्डारीको नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन भयो ।

२०६८ जेठमा जेपी गुप्ताले गच्छदारको साथ छोडेपछि मधेसी जनअधिकार फोरम-गणतान्त्रिक गठन भयो । पछि त्यो पनि फुट्यो र राजकिशोर यादवको हातमा नेतृत्व पुग्यो । २०६७ साल पुस १६ गते तमलोपा विभाजन गरेर महेन्द्रराय यादवले तमलोपा नेपाल गठन गर्नुभयो ।

यता राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट बाहिरिएका अनिल झाले २०६८ साउनमा संघीय सद्भावना पार्टी बनाउनुभयो । महतोको पार्टी फेरि विभाजन हुँदा २०६८ माघमा रामनरेश यादवले 'राष्ट्रिय सद्भावना पार्टी' गठन गर्नुभयो ।

त्यसो त २०६२ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि विभाजित भयो । कमल थापाले राप्रपा नेपाल गठन गर्नुभयो । राप्रपाबाट विभाजित हुँदै २०७३ चैत १६ गते प्रकाशचन्द्र लोहनीको नेतृत्वमा राप्रपा राष्ट्रवादी स्थापना भयो । यस्तै २०७४ साउन २२ गते कमल थापासँग असन्तुष्टि राख्दै पशुपतिशमशेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गर्नुभयो ।

सत्ता स्वार्थकै लागि एमाले र माओवादी केन्द्रबीच २०७५ सालमा एकतापछि बनेको नेकपा दुई वर्षभन्दा लामो समय टिकेन । २०७८ सालमा नेकपा विभाजित भयो । एमाले र माओवादी छुट्टाछुट्टै अस्तित्वमा आए । तर केही समयमै नेकपा एमाले विभाजित भयो र माधवकुमार नेपाल नेतृत्वमा २०७८ साल भदौमा नेकपा एकीकृत समाजवादी गठन भयो । त्यसपछि उपेन्द्र यादव नेतृत्वको जसपा विभाजित भएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी गठन भयो ।

२०८० सालमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित भयो र महिन्द्र राय यादवले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्‍यो । नेपालका जुनसुकै राजनीतिक दल फुट्नु र जुट्नुमा सत्ता स्वार्थसँग जोडिएको छ । अहिले जसपाको विभाजनमा पनि सत्ता स्वार्थ नै देखिन्छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।