निराधार हल्ला फैल्याएर स्वार्थीहरुले पार्टी फुटाए : उपेन्द्र यादव

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
निराधार हल्ला फैल्याएर स्वार्थीहरुले पार्टी फुटाए : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू विदेशमा रहेको मौका पारेर निराधार र कपोलकल्पित हल्ला चलाएर स्वार्थीहरुले पार्टी विभाजन गरिएको आरोप लगाउनु भएको छ । 

जसपा नेपालले पार्टी कार्यालय बालकुमारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले भन्नुभयो, 'विदेश गएको मौका छोपेर, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर सरकार ढाल्दैछ भनेर हल्ला चलाइयो ।'

उहाँले केही व्यक्तिको महत्वाकांक्षा र व्यक्ति केन्द्रित फाइदा उठाउने उद्देश्यले पार्टी विभाजन गरिएको जनाउनु भयो । अध्यक्ष यादवले गैरकानुनी र असंवैधानिक तरिकाले पार्टी विभाजन गरी दर्ता गरिएको दाबी गर्नु भएको छ । 'नेपालको इतिहासमा पहिलो पटक यति छिटो पार्टी दर्ता गरियो,' अध्यक्ष यादवले भन्नुभयो, 'पार्टी दर्ता असंवैधानिक र गैरकानुनी छ, त्यसका लागि हामी अदालतमा जान्छौं ।' 

यादवले आफूहरुसँग केन्द्रीय समितिमा दुई तिहाइ र कार्यकारिणी सदस्य बहुमत रहेको भन्दै फुटेर जानेहरु स्वार्थप्रेरित मात्र रहेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो, 'कार्यबाहक बनाएकाले पार्टी फुटाए । पटक-पटक मन्त्री बनेका र अहिले मन्त्री बनाएकाहरुले पार्टी फुटाए ।' यादवले राजनीतिक दलहरु संस्थागत र स्थिर हुन नसकेकै कारण देशमा राजनीतिक खतरा बढेको औंल्याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.