गण्डकीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट गुरुङ र सुन्दास मन्त्री नियुक्त

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट गुरुङ र सुन्दास मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

हिजो मात्रै विश्वासको मत लिनुभएका मुख्यमन्त्री अधिकारीले एमालेका वेदबहादुर गुरुङलाई ऊर्जा तथा खानेपानी र सीता सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा दिनुभएको छ । दुवैले आजै प्रदेश प्रमुख डिल्लीराज भट्टसामु पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । सुन्दास यसअघि अधिकारी नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री र गुरुङ ऊर्जामन्त्री हुनुहुन्थ्यो ।

चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीले यसअघि आफूसँगै शपथ लिनुभएका स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक तथा पूर्वाधार र माओवादी केन्द्रका हरिबहादुर चुमानलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइसक्नुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मा भने मुख्यमन्त्री आफैँले राख्नुभएको छ । योसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

मुख्यमन्त्री अधिकारीले हिजो (आइतबार) लिएको विश्वासको मत भने विवादित बनेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनाको मतलाई सभामुख कृष्णप्रसाद धितालले बहुमत प्राप्त गरेको घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले असंवैधानक भन्दै अदालत जाने तयारी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.