पोखरा । गण्डकी प्रदेश सभामा बहुमत नै नपुगी मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको भन्दै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।
सर्वोच्चमा रिट दायर गर्न नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डे आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँले भोलिसम्ममा सर्वोच्चमा रिट दायर गरिने जानकारी दिनुभयो ।
गण्डकी प्रदेशसभामा हिजो भएको मतविभाजनमा मुख्यमन्त्री खगराज अधिकारीले पेस गर्नु भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० मत परेको थियो । ६० सदस्यीय प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको व्याख्याअनुसार भन्दै ३० मतका आधारमा नै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नु भएको थियो ।
तर, कांग्रेसले भने बहुमतका लागि ३१ मत चाहिने र अधिकारीले ३० मतका आधारमा विश्वासको मत पाउन नसक्ने दाबी गरेको छ । सभामुखले सर्वोच्चको आदेशलाई गलत तरिकाले व्याख्या गरेको र विश्वासको मत पाएको घोषणा असंवैधानिक रहेको पाण्डेको दाबी छ ।
कांग्रेसले यसअघि पनि सभामुखलाई समेत गणना गरेर बहुमत पुर्याई अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै अधिकारीको नियुक्ति खारेजीको मागसहित सर्वोच्चमा रिट दायर गरेको थियो । तर, उक्त रिट भने सर्वोच्चले खारेज गरिदिएको थियो । कांग्रेस गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल हो ।
सम्बन्धित समाचार...