यस्तो छ आजको मौसम, वायु प्रदूषणमा काठमाडौं विश्वकै पहिलो नम्बरमा

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस्तो छ आजको मौसम, वायु प्रदूषणमा काठमाडौं विश्वकै पहिलो नम्बरमा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ। 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा हावा-हुरीको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हावा-हुरीको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

वायुमा रहेको प्रदूषण तुलना गर्ने 'एक्यूआई' मापनमा काठमाडौं आज बिहान पनि विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको पहिलो सूचीमा छ । काठमाडौंको एक्यूआई १ सय ७० छ । एक्यूआई १ सय ५० भन्दा बढी भएमा त्यसलाई हानिकारक वायु प्रदूषणका रुपमा लिइन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.