राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाको माग

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाको माग

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाले माग गरेका छन् । पूर्वमन्त्री एवं भारतका लागि नेपाली राजदूत नीलम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल र लेखक तथा पत्रकार कनकमणि दीक्षितले बुधबार सामुहिक रूपमा एक विज्ञप्ति जारी गर्दै नेपालाई बर्खास्त गर्न माग गर्नुभएको हो ।  

राष्ट्रपतिका सल्लाहकार नेपालले एक सयको नोटको पुन: मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णयप्रति विरोध जनाएको भन्दै तत्काल पदबाट हटाउन विज्ञप्तिमा माग गरिएको छ । 

'चलनचल्तिमा रहेको नेपालको नक्सा अंकित एक सयको नोटको पुन: मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णय प्रति राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले गरेको विरोधप्रति हामी निम्न हस्ताक्षरकर्ता खेद व्यक्त गर्दछौँ,' विज्ञप्तिमा लेखिएको छ, 'मुलुकको हित र स्वाभिमान विरुद्ध र पदीय मर्यादा विपरीत राष्ट्रिय र अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रतिक्रिया दिदै उनले यस्ता टिप्पणी गरेका छन्। जबकि संविधानको नक्सामा भएको संशोधनलाई लाञ्छित गर्ने र भूमिमाथि आफ्नो दाबी नेपालले त्यागेको अर्थ लाग्ने गरी नोट छाप्ने कुरा भएको भए देशघाती हुन्थ्यो।'

नेपालले सार्वभौमिकताबारे गरेको टिप्पणी अपरिपक्व भएको नागरिक अगुवाको भनाइ छ ।

'सीमा नाघेका यस्ता सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पदको गरिमामा चोट पुर्‍याएको छ,' विज्ञप्तिमा उल्लेख छ, 'राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई 'अन्तर्राष्ट्रिय मान्यता विपरीत' र 'अविवेकी' भन्ने सल्लाहकार चिरञ्जीवी नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छौं।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.