यातायात व्यवस्था विभागका अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन -लाइसेन्स वितरणमा उठेका प्रश्नहरू समाधान गर्नुहोस्

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
यातायात व्यवस्था विभागका अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन -लाइसेन्स वितरणमा उठेका प्रश्नहरू समाधान गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गर्नुभएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनस्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा छलफल गर्नुभएको हो । छलफलमा प्रधानमन्त्री दाहालले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयो ।

'सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्,' प्रधानमन्त्री दाहालले भन्नुभयो, 'लाइसेन्स जसरी वितरण हुनुपर्थ्यो, त्यस्तो भएको छैन । नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु । यो समस्या तत्काल समाधान गर्नुस् ।'

छलफलमा उहाँले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ भन्ने बारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिनुभएको छ ।

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.