स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौँ राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो ।

पत्रकारिताको धर्म र व्यावसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवर्द्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो, ‘पत्रकारिता क्षेत्रमा खोज र नवीनता प्रवर्द्धनमार्फत् अझ बढी व्यावसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गरी प्रेसप्रतिको जनविश्वास बढाउने कार्यमा तपाईँहरू लाग्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्‌ले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उहाँले स्मरण पनि गर्नुभयो । बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने र व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझै प्रभावकारी ढङ्गले अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.