प्रधानमन्त्री दाहाल र जापानी विदेशमन्त्रीबीच शिष्टाचार भेट

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र जापानी विदेशमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले नेपालको पूर्वाधार एवं आर्थिक-सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।

‘नेपाल-जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।’

सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल-जापानबीच सम्बन्ध सदैव सौहार्द्रपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.