स्याउलाकै भरमा डढेलो नियन्त्रण, छैन विपत्तिमा चाहिने प्रविधि र पूर्वतयारी

वैशाख २१, २०८१ |रमेश धमला
स्याउलाकै भरमा डढेलो नियन्त्रण, छैन विपत्तिमा चाहिने प्रविधि र पूर्वतयारी

काठमाडौं । पूर्वतयारी पर्याप्त भए प्राकृतिक विपत्तिको क्षति पनि कम गर्न सकिन्छ । तर मानव सिर्जित विपत्तिका लागि राज्यले बेलैमा सतर्कता अपनाउने र त्यहीअनुसार आफ्ना संयन्त्रलाई तयार पार्न सके क्षति रोक्न सकिन्छ । पछिल्लो तीन सातादेखि देशका सयौंमा ठाउँमा डढेलोले वनजंगल सखाप पारेको छ भने आगलागीले बस्ती खरानी भइरहेका छन् । तर धनको मात्रै होइन जनको समेत क्षति भइरहँदा जंगलबाट बस्तीसम्म पुगेको आगो समयमा नियन्त्रण गर्न सकिएको छैन ।

स्याउलाले आगो निभाउन खोज्दा मान्छे मरिरहेका छन् भने पर्याप्त स्रोत-साधन नहुँदा आगो नियन्त्रण गर्न जाने सुरक्षाकर्मी आफैं असुरक्षित भइरहेका छन् ।

चैत २७ गते डोल्पाको ठूली भेरीस्थित सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न गएका तिन सैनिकले कर्तव्य पालनाकै सिलसिलामा ज्यान गुमाए । नेपाली सेनाको अधिकांश जनशक्तिलाई आगो नियन्त्रणको अभ्यास गराइएको हुन्छ । तैपनि तीन जनाको ज्यान जानुको मुख्य कारण हो ती सुरक्षाकर्मी स्वयंसँग आगो नियन्त्रणमा जाँदा लगाउने सुरक्षित पोसाक नहुनु ।

सेना विपद् उद्धारमा खटिन सक्ने सबैभन्दा प्रभावशाली जनशक्ति भएको संगठन हो । सेनाले विपद् व्यवस्थापन निर्देशनालय नै स्थापना गरेर दुईवटा गणमा तालिम प्राप्त करिब १६ सय जनशक्ति राखेको छ । तीमध्ये सामान्य आगो नियन्त्रणको तालिम सबैले गरे पनि आवश्यक सुरक्षात्मक साधन दिन सकेको छैन । गत साउनयता सेनाले देशैभर ८५४ स्थानको आगो तथा डढेलो नियन्त्रणका लागि २२ हजार जनशसिक्त परिचालन गरेको छ । तर विशेष गरेर जंगलबाट बस्तीमा सल्किरहेको आगो नियन्त्रणका लागि जाने सैनिकमध्ये एकाधसँग मात्रै आगो नियन्त्रित पोसाक छ ।

डढेलो र आगो नियन्त्रण तथा उद्धारका लागि खटिने सैनिक सुरक्षित हुन सक्ने पर्याप्त साधन दिन कठिन भइरहेको सैनिक प्रवक्ता गौरवकुमार केसी बताउनुहुन्छ ।

तराईमा त्यसै पनि गर्मी त्यसमा पनि पर्सा, चितवन, रौतहटलगायत जिल्लामा बस्ती नै सखाप भइरहँदा सशस्त्र प्रहरी बल पनि उत्तिकै संख्यामा खटिएका छन् । विपद् व्यवस्थानका लागि दुई हजारजना तालिम प्राप्त जनशक्ति भएको सशस्त्रसँग आगो नियन्त्रण गर्न सक्ने २५० जना मात्रै छन् ।

गत साउनयता आगजनीका सात सय सात घटनामा १० हजार ७६ जना परिचालन गरेको सशस्त्रका दुई सय जनाका लागि मात्रै सुरक्षात्मक साधन उपलब्ध छ । अहिले भइरहेको डढेलो र बस्तीमा पुगेको आगो नियन्त्रण गर्न एक त तालिम प्राप्त जनशक्ति पर्याप्त छैन भने भएकाहरुलाई दिने साधन अपुग छ । सशस्त्रले अग्नि नियन्त्रण तालिम केन्द्र स्थापनाको माग गर्दै आए पनि सरकारले कहिलै पनि गम्भीरसाथ लिएन । जसको क्षति अहिले बेहोर्नु परिरहेको सशस्त्रका प्रवक्ता राजेन्द्र खड्का बताउनुहुन्छ ।

दैनिक शान्ति सुरक्षाको जिम्मेवारीमा रहेको प्रहरी सबै विपद्‌मा पुग्ने पहिलो सुरक्षा निकाय हो । तर चौकीबाट खाली हात जान बाध्य हुने प्रहरी डढेलोसामु निरिहजस्तै हुन्छन् । ८० हजार सुरक्षाकर्मी भएको नेपाल प्रहरीभित्र एक हजार ९५० जनालाई मात्रै विपत्‌ उद्धार तथा व्यवस्थापनको तालिम दिइएको छ । त्यसमा पनि आगो नियन्त्रणको दक्षजनशक्ति अत्यन्त न्यून छन् ।

सरकारले बस्ती नै पस्नेसम्मको आगो लाग्दा नियन्त्रण गर्ने एउटा हेलिकोप्टरमा समेत लगानी गर्न सकेको छैन । तीन तहको सरकारले विपद्‌बाट जोगिन दक्ष बनाउन त सकेको छैन नै राज्यका सुरक्षा संयन्त्रलाई समेत साधन उपलब्ध गराउन सकेको छैन । जब उद्धारमा जाने आफ्ना संयन्त्र नै सुरक्षित हुन सक्दैनन् भने अरुको जीवनरक्षा कसरी हुन्छ ?

यो पनि...

देशका ५० भन्दा बढी ठाउँमा आज पनि डढेलो र आगलागी

भक्तपुरको पात्लेटार जंगलमा २ दिनदेखि डढेलो, बाटो नहुँदा दमकल पुग्न सकेन

डढेलो र आगलागीको रिपोर्टिङमा कान्तिपुर, यस्तो छ देशभरको अवस्था !

डढेलोले बढायो वायु प्रदूषण

४७ जिल्लाका ३५० स्थानमा डढेलो, सरकारले अझै देखेन

देशका ३,९८५ स्थानमा डढेलो, कहाँ कति क्षति ?

डढेलोबाट डोल्पामा ६ जनाको मृत्यु, ८,७३० हेक्टरमा क्षति

पाल्पाको हेक्लाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा २४ घरगोठ जले

अग्निपीडितको घर मधेश प्रदेश सरकारले बनाउँछ : मुख्यमन्त्री यादव

रामेछापको काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।