सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर नष्ट

वैशाख २०, २०८१ |ओमप्रकाश ठाकुर
सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर नष्ट

सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट ७२ वटा घर नष्ट भएका छन् ।

विष्णु गाउँपालिका १, बाराउद्योरणस्थित एक बस्तीमा बिहीबार दिउँसो आगलागी हुँदा ७२ परिवार घरवारविहीन बनेका हुन् ।

बाराउद्योरणका बासिन्दाका अनुसार शत्रुघन राउतको घरबाट आगलागी सुरु भएको हो । आगलागीपछि उनको घरमा रहेको ग्यास सिलिन्डर पड्किएको थियो । त्यसपछि सबैतिर आगो फैलिएको थियो । त्यसपछि बस्तीमा रहेका खाना बनाउने ग्यास सिलिन्डर विस्फोट हुँदा आगो बस्तीमा फैलिएको थियो ।

घटनास्थलमा रहेका सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक विनोदराज खनालले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार ७२ परिवार घरवारविहीन भएका छन् । आगलागीबाट क्षतिसहित विस्तृत विवरण संकलन भइरहेको पनि खनालको भनाइ छ ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।