बर्खामा बाढी र डुबानको उच्च जोखिममा रहने प्रदेश दुईको पूर्व तयारी फितलो

असार २६, २०७६

गएको शुक्रवारसाँझ सप्तरीस्थित सप्तकोसी नदीमा एक महिलाले चार जना छोराछोरीसहित हाम फालिन् । आमा र एक बच्चालाई स्थानीयले उद्धार गरे । तर‚ डुबेर वेपता भएका अन्य तीन जना बालबालिकाको अहिलेसम्म अतोपतो छैन । 

दुई वर्षअघि सप्तरीको कोसीसहित खाँडो‚ महुली‚ सुन्दरी‚ त्रियुगा‚ जितासहितका खोला नदीमा आएको बाढीमा परेर आठ जनाको ज्यान गएको थियो । सप्तरी देउरी भरुवाका डोमी यादव त सुरक्षासंयन्त्रका तिनै प्रकारको सुरक्षाकर्मीकै उपस्थितिमा खाँडो नदीमा बगे । तर‚ खोजीका लागि गोताखोरसहित आधुनिक उपकरण नहुँदा उनको शव फेला परेन ।सप्तरीमा मात्रै नभई प्रदेश नम्बर  दुईका रौतहट‚ सर्लाही‚ सिरहा‚ धनुषा‚ महोत्तरीसहितका जिल्लामा पनि विपद् ब्यवस्थापनको कुनै तयारी गरिएको  छैन । रौतहटमा वर्षेनी बागमती र लालबकैया नदीले ठुलो समस्या पार्दैआएको छ । बागमतीमा चल्ने डुंगामा समेत सुरक्षाका लागि सामान्य वाटरप्रुफ लाइफ ज्याकेटसमेतके व्यवस्था नगरेको स्थानीयले गुनासो  गरेका छन्  ।कमला नदीले सिरहा र धनुषाका लगभग आधा हिस्सा प्रभावित पार्दछ भने महोत्तरीमा रातो नदीले । विपद्मा परेकालाई तत्कालै उद्धार गर्ने काममा कमजोर देखिएको प्रदेश २ सरकारले राहत ब्यवस्थापन भने जोहो गरेर राखेको जनाएको छ ।

विपद् कसैलाई भनेर आउँदैन । तर अहिले बाढीको विपद् आउने भने सबैलाई थाहा भएकै समय हो । बाढी आएको बेला प्रमुख काम बचाउ र उद्धार नै हो । तर‚ बचाउ र उद्धारमा कमजोर देखिएको प्रदेश २ सरकारसँगै जिल्ला र स्थानीय विपद् ब्यवस्थापन समितिहरुले समयछँदै यसतर्फ ध्यान दिनु जरुरी छ ।