कोशीमा माछा मासिदै गएपछि मलाह जातीको पेशा संकटमा ।

जेष्ठ २९, २०७६

सूर्यको पहिलो किरण निस्किनेसाथ सप्तरी भारदहका ५० वर्षिय रामचन्द्र मुखिया घरबाट नजिकै रहेको कोसी नदीतिर सोझिन्छ । दुई छाक टार्ने मुख्य आधार नै माछा मार्नेपर्ने भएकाले उनी काँधमा जाल र पिउठ्यूँमा खाजासहितको झोला बोकेर हिडछन् । डुंगाको सहयोगमा माछाको खोजीमा कोसी ब्यारेज चहार्ने उनको दैनिकी नै हो । मलाह समुदायको पूर्ख्यौली पेशा नै माछा मार्ने भएकोले रामचन्द्रजस्तै छिमेकी उचितलाल मुखियाको दैनिकी पनि उस्तै हो । अहिले कोसीमा माछा कम पाउने भएकाले दिनभरि माछा मार्दा मुश्किलले १ देखि ४ किलोसम्म विभिन्न जातका माछा दुवै जनाले पाउँछन् । कोसी नदीबाट मारेका माछा उनीहरु नजिकै रहेको माछा बजारमा बिक्री गरी आएको पैसाबाट घर परिवार जेनतेन चलाउने गरेको  छ । कोसीमा पाउने माछाहरुमध्ये जलकपुर‚ भुना‚ मरौर‚ पौसिया‚ काँटी‚ बुवारी अति मिठो हुन्छ । स्वादमा मिठो भएकै कारण यहाँ मारिएको माछा जिल्ला बाहिर पनि निर्यात हुन्छ ।