आठौं राष्ट्रिय खेलकुदका विजेताले अझै पुरस्कार पाएनन्

जेष्ठ २९, २०७६

६५ करोड खर्चेर चैत २७ देखि वैशाख ११ सम्म चलेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेताले अहिलेसम्म पुरस्कार पाएका छैनन् ।  प्रतियोगिता शुरु हुनुअघि नै  एकलमा स्वर्ण जित्नेलाई १५ हजार र समुहमा ७ सात हजार नगद प्रदान गरिने घोषणा राष्ट्रिय खेलकुद परिषदले गरेको थियो । स्वर्ण जितेर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई थप २५ हजार रुपैँया दिने भनिएको थियो । तर प्रतियोगिता सकिएको डेढ महिनासम्म कुनैपनि खेलाडीले पुरस्कार पाएका छैनन् । यसले खेलाडी अन्योलमा परेका छन् नै, पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेकाहरु त निरुत्साहित बनेका छन् । 

राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई नगद पुरस्कार दिने प्रचलन छैठौं संस्करणबाट शुरु भएको हो । प्रदेश पाँचमा भएको आठौं राष्ट्रिय खेलकुदमा ३५ खेलका पाँच हजार दुई सय एघार खेलाडी सहभागी थिए । ति मध्ये उत्कृष्ट तीन सय ७२ जनाले स्वर्ण जितेका थिए । तर पुरस्कारको अहिलेसम्म अत्तोपत्तो छैन् । बरु परिषद्ले समयमा पुरस्कार नदिने परम्परालाई निरन्तरता दिएको छ । 

खेल जितेपछि तत्काल पुरस्कार पाउँदा खेलाडीको मनोबल पनि बढ्छ । तर पुरस्कार उधारो राख्ने प्रवृत्तिले खेलाडीलाई उत्साहित त गर्दैन नै,खेल क्षेत्रकै शाख समेत कमजोर हुन्छ । त्यसलै विजेतालाई तत्काल पुरस्कृत गर्न खेलकुद परिषदले ध्यान दिने कि ?