पप्पु कन्स्ट्रक्सनले ओगटेका मात्रै पाँचवटा पुलको काम अलपत्र

जेष्ठ २९, २०७६

हुलाकी राजमार्गअन्तर्गत २ सय १९ वटा पुल बनाउनुपर्ने भएपनि अहिलेसम्म ८० वटा पुल मात्र निर्माण गरिएको छ । ८० पुल निर्माणाधीन छन् भने, ५९ पुल बल्ल डिजाइनको चरणमा छन् । निर्माणाधीनमध्ये १ अर्ब ७० करोड लागतका ९ वटा पुलमा व्यवसायीको अटेरीपनले काम निकै सुस्त छ । 

राजमार्गका कतिपय पुलमा ठेक्का सम्झौता भएको ७ वर्ष पुग्दासमेत मुस्किलले २० प्रतिशत पनि काम भएको छैन । पटक-पटक म्याद थप्दा पनि पर्साको तिलावे, सर्लाहीको बाँके, कैलालीको कन्द्रा, झापाको विरिङ, कन्काइ लगायत नदीका पुल निर्माणमा ठेकेदारको अटेरीले कामले गति नलिएको हो । हुलाकी राजमार्गमा समस्याग्रस्त बनेका ९ पुलमध्ये ५ वटामा कालोसूचिमा परेको पप्पु कन्स्ट्रक्सन संलग्न छ । 

पुल निर्माण मात्र होइन कालोपत्रको अवस्था पनि निकै टिठलाग्दो छ । १७ सय ९२ किलोमिटरको राजमार्गमा अहिलेसम्म जम्मा २ सय ५४ किलोमिटर कालोपत्र भएको छ । निकुञ्ज क्षेत्रमा पर्ने नवलपरासी र चितवन, घना जंगल भएको कल्याणकोट-शिवगढी तथा दाङ- बाँके खण्डमा राजमार्ग यकिन गर्नै बाँकी छ ।  ढिलाइकै कारण लागत बढेर ६५ अर्ब २० करोड पुगेको राजमार्गमा कामको गति नबढाए लागत अझै बढ्ने पक्का छ ।