पूर्व पश्चिम रेलमार्ग बनाउन सवा १२ अर्ब रुपैयाँ खर्च

जेष्ठ ६, २०७६

रेल विभागका अनुसार पूर्व पश्चिम रेलमार्ग बनाउन हालसम्म १२ अर्ब १३ करोड रुपैयाा खर्च भइसकेको छ । जसमध्ये, विस्तृत अध्ययनमा २ अर्ब ९३ करोड, जग्गाको मुआब्जा वितरणमा ३ अर्ब ८७ करोड र निर्माणमा ५ अर्ब ३३ करोड रुपैयाँ सकिएको छ । विस्तृत अध्ययन पुरा भएकाले अब संरचना निर्माणको चरण हो ।  

विनियोजित बजेट अनुसार अहिले भइरहेको काम सन्तोषजनक भएपनि पर्याप्त बजेट, श्रोत र जनशक्तिको व्यवस्थापन गर्न नसक्ने हो भने समग्र रेलमार्ग निर्माणको काम चुनौतिपूर्ण नै छ । 

पूर्वको काकडभिट्टादेखि पश्चिमको गड्डाचौकीसम्म करिब ९ सय ४५ किलोमिटर रेलमार्ग बनाउने सरकारको तयारी हो । कामले गति लिन नसक्नुमा जग्गा अधिग्रहण प्रमुख समस्याका रुपमा रहेको छ ।  विस्तृत अध्ययन सकिएपछि सरकारले आगामी साउनदेखि निर्माण थालिने जनाए पनि अहिलेकै गतिमा काम हुने हो भने पूर्व पश्चिम रेलमार्गको पनि अरु विकास आयोजनाकैजस्तो हविगत हुनसक्छ । सरकारले पूर्व पश्चिम रेलमार्ग निर्माणको विस्तृत अध्ययनको काम सकिएको बताइरहादा संरचना निर्माणका लागि स्पष्ट हुनु जरुरी छ ।

त्यतिमात्र होइन रेल सञ्चालनका लागि २०२० सालमा बनाइएको कानुन समेत अझै परिमार्जन भएको छैन । तसर्थ रेल वे- निर्माण र सञ्चालनका लागि कानुनसँगै श्रोत र जनशक्तिको सुनिश्चितता तर्फ पनि ध्यान जाओस् ।