पप्पु कन्स्ट्रक्सनले बनाउँदै गरेको अर्को पुल पनि गुणस्तरहीन

जेष्ठ ४, २०७६

पप्पु कन्स्ट्रक्सनले तीनकुनेमा २१ करोड ३३ हजार रुपैयाँ लागतमा ८७ मिटरको पुल बनाउने ठेक्का २०७१ पुसमा पाएको थियो । काम सम्पन्न गर्नुपर्ने  म्याद सकिएको एक वर्ष बितिसकेको छ । तर काम भने बल्ल ३० प्रतिशत मात्र भएको छ । त्यसमा पनि गुणस्तरमा चरम लापर्बाही गरेको पाइएको छ । बानेश्वरबाट तीनकुने आउँदा बायाँतर्फको पुलको जग नै कमजोर रहेको खुलेको छ । नेटवर्क आर्चव्रिज डिजाइनको पुलको जगमा साढे २९ मिटर लम्बाइका १६ वटा पाइल राख्नुपर्नेमा एउटा साढे १६ मिटरको राखेको र अन्य दुई पाइला पनि मापदण्डविपरीतका भएको खुलेपछि सडक विभागले सुरुमै त्रुटी सच्चाउन निर्देशन दिएको थियो । तर, पप्पुले विभागको निर्देशनलाई अटेर गरेपछि विभागले कैफियत भएको ठाउँमा काम नगर्न फेरि निर्देशन दिएको छ ।   

पप्पुभन्दा ९ दिन ढिलो गरी अर्कै कम्पनीले ठेक्का पाएको विजुलीबजार पुलको ७० प्रतिशत काम सम्पन्न भएको छ । दुवै पुलको डिजाइन एउटै हो । संसदीय अनुगमनले भने तीनकुने पुल निर्माणमा सरकारी कर्मचारी र ठेकेदार दुवैको कमजोरी रहेको जनाएको छ । 

पप्पुले बर्दियाको जब्दीघाटमा बनाएको पुल प्रयोगमा नआउँदै भासिएको थियो भने काठमाडौंको कालीमाटीमा बनाएको पुल कमसल भएकाले सरकारले नै सञ्चालनमा रोक लगाएको छ ।