कंक्रिटको जंगलमा ज्याकारान्डाको सौन्दर्य

जेष्ठ २, २०७६

उसले मलाइ आफ्नो घर विशालनगरमा निम्त्यायो । घर शिरिषका रुखहरुले घेरेको क्याम्पभित्र रहेछ । हामी त्यहाँ पुग्दा मध्यान्ह भएको थियो । र ठीक त्यही याम, जहिल्यै यी रुखहरुले आफूलाइ निलै बनाएर फूलाउँदा छन् । 

जब वसन्त ऋतु लाग्छ, साहित्यकार पारिजातको बहुचर्चित शिरीषको फूल उपन्यासमा गरिएको यो वर्णनले धेरैलाइ उपन्यासको संसारमा डुबाउँछ । 

हरियाली हराउँदै गएको काठमाडाौँ उपत्यकामा वसन्त ऋतुको संकेत गर्ने यिनै रूखले महानगरभरि बैजनी रङ छर्छन् । 

तर समस्या के भने पारिजातको उपन्यास जति लोकप्रिय भयो, हाम्रो रैथाने शिरीष हराउँदै गयो । ब्राजिलबाट आयातीत ज्याकारान्डाले काठमाडौँका बगैँचा भरिँदै गए ।

वनस्पतिविज्ञका अनुसार नेपाली शिरीष हिमाली खण्डमा पाइने खयर, बबुल तथा लज्जावती वर्गमा पर्ने माइमोसा जातिको हो, जुन तराइदेखि उष्ण पहाडी क्षेत्रसम्म सात आठ प्रजातिका भेटिन्छन् । ससाना पातको पुञ्जमा सजिनु काठमाडौंमा  बैजनी रङ्ग छरेको ज्याकारान्डासँग मिल्ने विशेषता हुन् । र, यही कारण ज्याकारान्डा नै शिरीष भन्ने भ्रम फैलियो । कोसेबालीमा पर्ने रैथाने शिरीषले हावाबाट नाइट्रोजन खिची माटो मलिलो बनाउँछ र गर्मियाममा छहारी दिन्छ । अरु कुनै वनस्पतिलाइ शिरीष भनेर उपयोग गर्दा भने नोक्सान हुनसक्ने विज्ञ बताउँछन् ।

नाम जे भए पनि ज्याकारान्डाले सहर सुन्दर पारेको छ । काठमाडौंको मलिलो माटो र हावापानीले यसलाइ राम्रै साथ दिएको छ । सँगसँगै रैथाने शिरीषको अस्तित्वबारे पनि सोच्ने बेला आएको छ ।