१६ वर्षिय प्रिन्सले तोडे ब्याडमिन्टन च्याम्पियन रत्नजितको रेकर्ड

वैशाख ३, २०७६

दार्चुला खलंगाका प्रिन्स प्रहरी विद्यालय काठमाडौंमा आठ कक्षमा पढ्छन् । पन्ध्र वर्षमुनिका प्रतियोगितामा थुप्रै पदक जितेका प्रिन्सले केही दिनअगाडि काठमाडौंमा सम्पन्न कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगितामा १७ वर्षमुनिको इभेन्टमा स्वर्ण र पुरुष खुलातर्फ कास्य पदक जितेका थिए ।  १६ वर्षिय यिनै प्रिन्सले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत तीन वर्षदेखिका राष्ट्रिय च्याम्पियन रत्नजित तामाङलाई टिम इभेन्टको सेमिफाइनलमा हराए । विद्यालयमा सुदीप योञ्जनबाट प्रशिक्षण लिने गरेका प्रिन्सले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनुअघि थाइल्याण्डको बैंकक पुगेर एक महिने प्रशिक्षण लिएका थिए । हुन त रत्नजीत पनि जापानको प्रशिक्षणबाट फर्किएको धेरै भएको छैन । तर प्रिन्ससँग पराजय व्यहोरे । खेलाडीका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता पर्व हो । जहाँ प्रिन्सले तीन वर्षदेखिका राष्ट्रिय च्याम्पियनलाई पाखा लगाएर आफूलाई सम्भावना भएका खेलाडीको रुपमा उभ्याएका छन् ।