अठार सय अलपत्र आयोजना मध्ये केहीको ठेक्का अख्तियारको छानविनमा

वैशाख २, २०७६

अख्तियारको प्रतिवेदन अनुसार १ खर्ब १८ अर्ब रुपैयाँका १८ सय ४८ आयोजना निर्माणको ठेक्का लामो समयदेखि अलपत्र छन् । अख्तियारले विकास निर्माणका काममा ठेकेदार र सरकारी निकायको लापरवाहीले आयोजना रुग्ण हुँदा राज्यलाइ अत्यधिक नोक्सानी भएको निश्कर्षसहित माघ १४ गते प्रतिवेदन सार्वजनिक गरेका थियो । अब भने अख्तियारले ती रुग्ण ठेक्कामध्ये अनियमिता देखिएका केही ठेक्का माथि विस्तृत अनुसन्धान गरिरहेको छ र विकास निर्माणका काममा लापरवाही गर्नेमाथि कारवाही गर्ने जनाएको छ  । रुग्ण आयोजनाका कारण राज्यलाई आर्थिक भार परेको भन्दै बजेटको छलफलमा समेत अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले समेत ठेक्का लगाउने निकाय माथि प्रश्न उठाएका छन्  । यसको मुल कारण विकास आयोजनाको प्रभावकारी नियमनको अभाव  र ठेक्कापट्टामा  हुने गरेको राजनीतिकरणलाई मानिएको छ ।सार्वजनिक पूर्वाधार निर्माणका लागि लगाइएका ठेक्का समयमा सम्पन्न नहुँदा एकातर्फ राज्यलाई आर्थिक भार परिरहेको छ भने अर्कोतर्फ नागरिकले सुविधा पाउनबाट बञ्चित हुनुपरेको छ । त्यसैले विकास आयोजनामा देखिएका ढिलासुस्ती र अनियिमता गर्नेमाथि अख्तियारले विस्तृत अनुसन्धान थाल्नु सकारात्मक भएपनि पूर्वाधार निर्माणमा हेलचेक्र्याईँ हुन नदिन ठेक्का लगाउने निकाय पनि जिम्मेवार बन्नु जरुरी छ ।