भक्तपुरमा विस्केट जात्राको रथ निर्माण विधि सत्तरी बर्षदेखि एउटै

वैशाख २, २०७६

चैत २७ गते टौमढीमा स्थानीय युवाले भैरवनाथको रथ आफ्नो टोलमा लैजान तानातान गरे । दुई तर्फबाट तानातान गरेपनि ३५ फिट अग्लो र ९ फिट चौडाइको शिखर शैलीको तीन तले रथमा कुनै क्षति भएन, जात्रा  हेर्नेले मनोरञ्जन लिए । रथमा मोटा काठ, चुकुल र बेट प्रयोग गरिएको छ । ७० वर्षअघि पनि यस्तै सामग्री प्रयोग गरिन्थ्यो । 

यति बलियो रथ कसले बनाएको हो त ? गुठी संस्थानले भक्तपुर मंगलाछेका प्रेमलाल शिल्पकारलाई रथ बनाउन लगाएको हो । प्रेमलालले एक महिना लगाएर रथ बनाएका हुन् । यिनले १८ बर्षदेखि रथ बनाउदै आएका छन् । यिनका बुवा र बाजेले समेत भैरवनाथको रथ बनाउने गरेका थिए । पुस्तादेखिको कामलाई निरन्तरता दिन प्रेमलालका कान्छा छोराले पनि अहिले रथ बनाउन सिकिरहेका छन् । 

चारवटा पांग्रा, ६ वटा लाकांसी, २ वटा निलचा,  ८ वटा त्वाक सी र एउटा  व्यत सी सहितको रथमा प्रयोग भएका काठ सानदान, अग्राख र चिलाउनेका हुन् । रथमा प्रयोग भएका कलात्मक बुुट्टेदार काठ भने लिच्छिविकालिन समयकै हुन् ।