मोफसलका प्रतियोगितामा समेत विदेशी खेलाडीको सहभागिता

वैशाख २, २०७६

पाँचथर सदरमुकाम फिदिममा जारी पाँचथर गोल्डकपको तेस्रो संस्करणमा १० टिम सहभागी छन् । जसमध्ये आयोजक झापा र मोरङ बाहेक सबै टिमले विदेशी खेलाडीलाई मैदानमा उतारेका छन् । यो त पछिल्लो उदाहरण मात्र हो । फागुनमा इलाममा भएको माइभ्याली गोल्डकप र पुसमा फिदिमै भएको फाल्गुनन्द गोल्डकपमा पनि प्रतिस्पर्धी क्लब विदेशी खेलाडीसहित मैदानमा उत्रिएका थिए । पछिल्लो समय स्थानीयस्तरमा हुन थालेका फुटबल प्रतियोगितामा पनि विदेशी खेलाडी देखिन थालेका छन् । खेलाडी उत्पादनमा सरकारले पर्याप्त लगानी गरेकै छैन, नेपाल फुटबल संघ एन्फा र सम्बन्धित क्लबले पनि प्राथमिकता दिएका छैनन् । एन्फाले प्रत्येक टिमले ४ जनासम्म्ा विदेशी खेलाडी अनुबन्धित गर्न पाउने निर्णय गरेको छ । क्लबहरुमा पनि विदेशी खेलाडीविना उपाधि जितिंदैन भन्ने मानसिकता विकास भएको छ । जसका कारण मोफसलका प्रतियोगितामा समेत विदेशी खेलाडीको उपस्थिति बढेको हो ।

नेपाली क्लवहरुमा विदेशी खेलाडीको वढदो उपस्थितिका कारण भविष्यमा पर्ने प्रभावको नजर अन्दाज गर्दै राज्य र एन्फा सहित खेल क्षेत्रका सरोकारवालाले नेपाली खेलाडी उत्पादनका लागि नीति बनाउनु आवस्यक देखिएको छ ।