अन्तर्राष्ट्रिय स्तरका क्लब तथा गैरसरकारी संस्था बिनास्वीकृति व्यापारिक भवन निर्माण गर्दै

चैत्र ६, २०७५

काठमाडौंको थापाथलीस्थित तथ्यांक विभागको आडैमा ठडिँदै गरेको यो व्यापारिक भवन रोटरी क्लब अफ काठमाडौंको हो ।  यो जग्गा रोटरीले आफ्नो आम्दानीबाट किनेको पनि होइन । भवनको जग खन्दा तथ्यांक विभागको परिसर र थापाथलीको बाटो नै भासिएको थियो । राज्यबाट सित्तैमा पाएको जग्गामा रोटरीले यो व्यापारिक भवन बनाउनुअघि समाज कल्याण परिषद्लाई अहिलेसम्म जानकारी गराएको छैन । रोटरीको भवन बनिरहेकै आडमा वर्षौँदेखि जेसिसले भवन भाडामा लगाउँदै आएको छ । र यसलाइ भत्काएर नयाँ बनाउने तयारी छ । तर जेसिसले उठाएको रकम कहाँ कसरी प्रयोग भइरहेको छ, परिषद्लाई जानकारी छैन । कानुन अनुसार गैरसरकारी संस्थाले सम्पत्ति आर्जन गर्न पाउने भए पनि खर्च गर्दा परिषदबाट स्वीकृति लिनुपर्छ र सामाजिक काममा मात्र लगाउनुपर्छ । त्यसै त काठमाडौंमा खुला स्थान भेट्न मुस्किल छ । भएका खाली क्षेत्र पनि अतिक्रमित भइरहेका छन् । त्यसमाथि समाज सेवा गर्न स्थापित संस्था पनि सरकारले सित्तैमा दिएको जग्गामा व्यापारिक भवन ठड्याएर सुशासनलाई मात्र गिज्याउँदै छैनन्, राजधानीको अति व्यस्त ठाउँमा कंक्रिटको संरचना थपेर कोलाहल बढाउन उद्यत देखिएका छन्  । 

अन्तर्राष्ट्रिय संगठनको लोगो लाग्दैमा राष्ट्रिय कानुन, स्थानीय आवश्यकता र पर्यावरणीय पक्षलाई बेवास्ता गर्ने अधिकार यस्ता संस्थालाइ छैन । त्यसैले जुन प्रयोजनका लागि जग्गा उपलब्ध गराइएको हो, त्योभन्दा बाहिर गएर प्रयोग गर्नेबाट खोसेर सरकारले यसलाइ खुला क्षेत्र घोषणा गर्ने हिम्मत गर्नुपर्छ ।