राष्ट्रिय मुद्दामा एकपछि अर्को अस्पष्टता

चैत्र १, २०७५

महत्वपुर्ण राष्ट्रिय मुद्दामा अस्पष्ट देखिन थालेको लोकमानसिंह कार्की प्रकरणदेखि हो । विवादास्पद छविका कार्कीलाई २०७० साल बैशाखमा अख्तियार प्रमुख बनाउँदा कांग्रेस केन्द्रीय समितिमै  चर्को आलोचना भएको थियो । तर लामो समय चलेको केन्द्रीय समितिले यसबारे केहि निर्णय लिएन । 

अख्तियार प्रमुख कार्कीलाई तत्कालीन एमाले र माओवादीले महाअभियोग लगाउँदा पनि कांग्रेस नेतृत्व चुपचाप बसेर उल्टै कार्कीलाइ नै सहयोग पुर्यायो । अझै, अख्तियार प्रमुख कार्कीलाइ अयोग्य ठहर गरेकि तत्कालीन प्रधानन्याधीश सुशिला कार्कीलाइ कांग्रेसले महाभियोग नै लगायो । यो बेग्लै कुरा हो कि  पछि फिर्ता लियो । तर किन महाभियोग लगाइयो र किन फिर्ता लिइयो भन्ने जवाफ पार्टी नेतृत्वले अझै दिएको छैन ।  विवादित प्रधान्यायाधिश गोपाल पराजुली तथा अर्का विवादित न्यायाधीश दिपकराज जोशीको प्रकरणमा पनि कांग्रेस मौन बस्यो ।

यसलाइ आजको दिनसम्म आइपुग्दा कांग्रेसले नेतृत्व दिने र समस्याको समाधान गर्ने हैसियत नै गुमाएको रुपमा बुझन सकिन्छ । 

अहिले सरकारले सीके राउतसँग सहमति गरेको  र नेत्रविक्रम चन्द  नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको बिषयमा पनि कांग्रेसमा एकमत देखिंदैन । 

प्रमुख प्रतिपक्षीका नाताले राष्ट्रिय राजनीतिमा सर्वाधिक चनाखो हुनुपर्ने हो । यद्यपि व्यक्तिगत र गुटगत स्वार्थका कारण आन्तरिक विबाद मिलाउन नसक्दा पार्टी राष्ट्रिय मुद्दामा अस्पष्ट देखिएको छ ।  

केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेको कांग्रेस सरकारविरुद्ध सशक्त खबरदारी गर्न सकिरहेको छैन । यसैगरि अस्पष्ट र ढुलमुले राजनीति गर्दै गए आगामी दिनमा कांग्रेस अझै किनारामा पुग्ने छ ।