दुइपक्षीय भेटवार्तापछि भने असन्तुष्ट नेताहरु केही लचिलो

चैत्र १, २०७५

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सीके राउतसँग गरेका ११ बुँदे सहमति र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनुअघि पार्टीमा सल्लाह नै नगरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम लगायतले बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले यी तीनै नेतालाई बिहिबार बालुवाटार बोलाएर आफ्नो कुरा सुनाएका हुन् । दुइपक्षीय भेटवार्तापछि भने असन्तुष्ट नेताहरु पनि केही लचिलो देखिएका छन् ।

बुधबार भने नेता नेपालले सरकारले चन्द र राउतसँग गरेको निर्णय बेठिक भएको भन्दै विरोध गरेका थिए । बिहिबारको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीले चासो राख्नु स्वभाविकै भएको तर सरकारले मुलुकको हितकै लागि निर्णय गरेको भन्दै असन्तोष साम्य पार्न खोजेका थिए । प्रधानमन्त्रीका निकटस्थ मानिनने  उपप्रधान तथा रक्षा मन्त्री  इश्वर पोखरेलले पनि उनको प्रयासको पुष्टि गरेका छन् ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए । नेताहरुबीच केहिदिनभित्रै पार्टी समायोजनलाई पूर्णता दिने तथा विधि र प्रकृयामा रहेर जिम्मेवारी तोक्नुपर्नेमा पनि कुराकानी भएको छ । सरकारका काम प्रभावकारी नभएको र पार्टी समायोजन लथालिङ्ङ पारेको भन्दै  नेतृत्वको आलोचना भैरहँदा अध्यक्षद्धय ओली र दाहालले केहिदिन यता आन्तरिक गृहकार्य तिव्र पारेका हुन् ।