अन्तर्राष्ट्रियस्तरको महिला फुटबलमा सम्भावना

फाल्गुन ३०, २०७५

नेपालमा महिला फुटबलको इतिहास लामो भएपनि अन्तर्राष्ट्रिय प्रतियोगिता भने बल्ल भित्रिएको छ । साफ महिला च्याम्पियनसिप पहिलोपटक नेपालमा भइरहेको छ । सन १९८० को दशकमा नै महिला फुटबल लोकप्रिय भएको भएपनि सरकारको प्राथमिकतामा नपरेकाले अन्तर्राष्ट्रिय प्रतियोगिता भित्रिन समय लागेको हो ।  

सन १९८६ को एएफसी एसियन कपमार्फत नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा १९९९ सम्म निरन्तर भाग लियो । त्यसपछि पाँच वर्ष महिला फुटबलको गतिविधि शून्यजस्तै भयो । २००४ मा चीनमा भएको अन्डर नाइन्टिन प्रतियोगितामार्फत महिला फुटबल अन्तर्राष्ट्रिय एरिनामा फर्कियो तर निरन्तरता पाएन । २०१० को साफ च्याम्पियनसिपयता भने नेपालले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पेमा लामासहित अघिल्लो पुस्ताका खेलाडी महिला फुटबलको विकासमा जुटेका छन् । 

साफमा नेपाली महिला टिमले पुरुष टिमले भन्दा राम्रो नतिजा ल्याइरहेको छ । यसअघिका चार संस्करणमध्ये तीनवटामा नेपाल उपविजेता बनेको थियो । साफमा भारतसँग मात्र हारेको नेपाली महिला टिमको पछिल्लो समयको प्रदर्शन र युवा प्रतिभाले अन्तर्राष्ट्रियस्तरको फुटबलमा सम्भावना देखाएको छ ।