अनलाइन प्रणालीमा त्रुटी नै त्रुटी

फाल्गुन ३०, २०७५

सेयर बजारमा पूर्ण स्वचालित कारोबार सुरु भएको चार महिना भयो । तर, १९ करोड रुपैयाँ खर्चेर लागू गरिएको अनलाइन प्रणालीमा यो अवधिमा त्रुटी नै त्रुटी देखिएको छ ।

कात्तिक २० गते औपचारिक कार्यक्रम नै गरेर अनलाइन कारोबार प्रणाली सुरु भयो । तर सुरुका केही दिन वास्तविक कारोबार भएको नै देखिएन  । यसपछि  लगानीकर्ता नेपाल स्टक एक्सचेन्ज नेप्से घेर्न पुगे । सेयर मूल्य एक दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि पुस ३० गते माथिल्लो तामाकोसीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखियो । नेप्सेको कारोबारमा आइतबार फेरि समस्या देखियो । जसका कारण दिउँसो १२ बजेर ४६ मिनेटपछि कारोबार नै हुन सकेन । नेप्से भने सफ्टवेयरमा कुनै समस्या नरहेको तर मानवीय त्रुटी र नेटवर्किङको समस्याले समयसमयमा कारोबारमा गडबडी भएको बताउँछ ।

नेप्सेले अनलाइन प्रणालीका लागि १९ करोड रुपैयाँ रकम खर्चेको थियो । पूर्णस्वचालित भनिएको यो अनलाइन निर्माणको जिम्मा वाइको कम्पनीले लिएको थियो  । सफल परीक्षण भइ प्रयोगमा आएको सफ्टवेयरको साटो नेप्सेले नयाँ सफ्टवेयर बनाउन लगाएको हो । जसका कारण उक्त सफ्टवेयरको गुणस्तरमाथि प्रश्न उठेको छ । 

कारोबारमा पटक पटक समस्या देखिनुले अनलाइन प्रणालीको विश्वसनियतामाथि प्रश्न उठेको छ । यसैले नेप्सेले ढाकछोप गर्नेभन्दा आगामी दिनमा त्रुटी आउन नदिनतर्फ ध्यान दिन जरुरी छ ।