सबैभन्दा धेरै भ्रष्टाचार सामान्य प्रशासन मन्त्रालय मातहतका निकायमा

फाल्गुन ३०, २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिपोर्ट अनुसार बाँकेका ८ बटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकामा सबैभन्दा धेरै भ्रष्टाचार भएको छ । यहाँ वडा नम्बर ४ मा नागरिक सुरक्षा भत्ताको अधिकांश रकम दुरुपयोग भएको छ । 

यस्तै बाँकेमा सबैभन्दा बढी विलासिताका साधन खरिद प्रकरणले विवादमा मुछिएको र जथाभावी खर्च गरेको राप्ती सोनारी गाउँपालिका भ्रष्टाचार हुनेमध्ये दोश्रो नम्बरमा छ । सुशासनको भाषण गरेर नथाक्ने नगरप्रमुख र उपप्रमुख भएको नेपालगन्ज उपमहानगर भ्रष्टाचारको तेस्रो स्थानमा रहेको अख्तियारको प्रतिवेदनले देखाएको छ ।

यस्तै कोहलपुर नगरपालिका भ्रष्टाचारको चौथो नम्बरमा छ भने राप्ती पूर्वको नरैनापुर र लमही डुडुवा तथा जानकी गाउँपालिका पनि आर्थिक श्रोत दुरुपयोग गर्ने स्थानीय तहको सूचीमा छन् । 

अख्तियारको प्रतिवेदनमा सबैभन्दा बढी भ्रष्टाचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतका निकायमा भएको देखिएको छ । यसले आर्थिक सुशासन थप बिग्रेको र जनप्रतिनिधी कै कारण भ्रष्टाचार झन बढेको संकेत गर्छ ।