एघार सय कर्मचारी कारबाहीका भागीदार

माघ २८, २०७५

निजामती कर्मचारीमा अनुशासनहीनता मौलाउँदै गएको सरकारकै एक अनुसन्धानले देखाएको छ । राष्ट्रिय शर्तकता केन्द्रले हालै काठमाडौं लगायत २३ वटा जिल्लामा गरेको अनुगमनमा अधिकांश कर्मचारीले समयको पालना नगरेको पाइएको छ । समयमा कार्यालय नजाने, गए पनि काम नगर्ने त्यस्ता ११ सय २ जना कर्मचारीलाइ अनुशासनहीनताको आरोपमा कारबाही गर्न केन्द्रले सिफारिस समेत गरेको छ । 

शतर्कता केन्द्रले गरेको २३ जिल्लाका सरकारी कार्यालयको अनुगमन गर्दा ८ सय १६ कर्मचारी समयमा कार्यालय नआउने र नबस्ने गरेको भेटियो भने २ सय ९२ कर्मचारीले सरकारी पोशाक नलगाई कार्यालय आवतजावत गरेको फेला पर्‍यो । ३ सय ७६ कार्यालयको अनुगमन गर्दा ११ सय २ जना कर्मचारीले अनुशासनहीनता प्रर्दशन गरेको, र काममा अटेरी गरेको भेटिएपछि केन्द्रले कारबाहीका लागि सिफारिस गरेको छ । अनुशासनमा रहेर मर्यादापूर्वक सेवाग्रहीलाई सेवा प्रदान गर्नुपर्ने कर्मचारी नै दायित्व र जिम्मेवारी भन्दा बाहिर गएर आचरण प्रर्दशन गर्नु शोभनीय नभएको केन्द्रको ठहर छ । 

अझ आश्चर्यको विषय त प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी नै बढी अटेरी रहेको केन्द्रको अनुगमनका क्रममा फेला परेको छ। केन्द्रले सिंहदरबारका प्रमुख ८ मन्त्रfलयको अनुगमन गर्दा २५ जना भन्दा बढी कर्मचारी समयमा कार्यालय नआउने र आए पनि नबस्ने गरेको भेटिएको थियो । समयमा काम नगर्ने र कार्यालयमा नबस्ने प्रवृत्तिले समयको पालना र आफ्नो कर्तव्यप्रति कर्मचारी कुन हदसम्म बेपर्वाह छन् भन्ने प्रस्ट हुन्छ  । 

सरकारी कर्मचारीलाई आधिकारिक पोशाक लगाउन सरकारले तलबमा भत्ता समेत थपेर दिन्छ । तर, नियम कानून उल्लंघन गर्दै कर्मचारीवृत्तबाट भइरहेको अटेरीपनले राज्य प्रशासनमा व्याप्त अनुशासनहीनतालाइ उदागों पारिदिएको छ । यतिमात्र होइन आफूमातहत रहेका कर्मचारीले गरेको अनुशासनहीनतालाई टुलुटुलु हेरिबस्ने प्रशासकीय प्रमुखलाई समेत जिम्मेवार बनाउनु जरुरी छ ।