न आकाशे पुल, न त जेब्राक्रस

माघ २८, २०७५

काठमाडौं चक्रपथको कोटेश्वर–कलंकी सडक खण्ड ८ लेनमा विस्तार भएपछि सवारीसाधनका लागि सहज त भएको छ तर यो सडक पैदल यात्रुका लागि भने धरापजस्तै छ । न आकाशे पुल छन्, न त जेब्राक्रस नै । पैदलयात्रु ज्यान जाोखिममा राखेर बाटो काट्न बाध्य छन् ।

कोटेश्वर–कलंकी सडक खण्डअन्तर्गत यो एकान्तकुना क्षेत्र हो । यहाँ सडक वारपार गर्न नजिक कतै पनि जेब्राक्रस छैन । यहाँ वरिपरि आकाशे पुल पनि छैन । त्यसैले यात्रु जोखिम मोलेरै सडक पार गरिरहेका छन् । चीनले पाँच अर्ब रूपैयाँ लगानीमा ८ लेनमा विस्तार गरिदिएको चक्रपथको यस खण्डका धेरैजसो चोकमा एकान्तकुनाको जस्तै समस्या  छ। साढे दश किलोमिटर सडक खण्डमा जम्मा तीन आकाशे पुल बनाइएका छन् ।   जेब्राक्रस खोज्दै वारपार गर्ने हो भने कम्तीमा एक किलोमिटर टाढा हिँड्नुपर्छ । नत्र यसैगरी जोखिम मोल्नुपर्छ । यस खण्डमा ७ वटा आकाशे पुल निर्माण सडक विभागको जिम्मामा छ । चीनले आफ्नो जिम्माको काम सकेर सडक हस्तान्तरण गरे पनि विभागले आकाशे पुल कहिले बनाउँछ भन्ने अत्तोपत्तो छैन ।  फराकिलो बनाएसँगै यस सडकमा तिब्र गतिमा सवारी साधन गुडाउने क्रम बढेको छ । तर पैदल यात्रुमैत्री संरचना नबनाएकाले दुर्घटना पनि बढेका छन् । यस खण्डमा गएको साउनयता मात्र ६ जनाले ज्यान गुमाइसकेका छन् भने महिनामा सरदर ८० वटा दुर्घटना भइरहेको प्रहरीको तथ्यांक छ ।