सुकदेव बने फिटनेशको रोल मोडल

माघ २८, २०७५

बडीबिल्डर सुकदेव कार्की एक समय दुर्घटनामा पर्दा धेरैले उनलाई विचराको पात्र बनाए । तर, जीवनप्रतिको आत्मविश्वासले उनी अहिले सफल बडीबिल्डर मात्र होइन, धेरै युवाको आदर्श पात्र बनेका छन् ।

करिब ४ वर्षअघि भएको यो दुर्घटनापछि सुकदेव कार्की करिब चार महिना बेडमा रहे । १६ दिनसम्म आइसियु, ९ हप्तामा पाँचवटा मेजर अपरेशन । उनका ८ वटा करङसहित १८ वटा हाड भाँचिए । बेलायतबाट भर्खर फर्केका बाइकका शौखिन सुकदेव, ४ महिनामा सामान्य हिँडडुल गर्न समेत नसक्ने भए । 

तर उनले हिम्मत हारेनन् । घटनाको सात महिनापछि नै जिम जान थाले । १९ औँ महिनामा मिस्टर हिमालयको मेन्स फिजिक्स र बडिबिल्डिङ क्याटागोरीमा दोस्रो भए भने त्यसको तीन महिनापछि ७० केजी तौल समुहको पाओर लिफ्टिङको बिजेतामा नाम लेखाए । उनी अहिले सिएफ मोटो र फिटनेशनको ब्राण्ड अम्बास्डर छन् । र थुप्रै युवा पात्रको रोल मोडल पनि । त्यो भयानक दुर्घटनापछि सफल जीवनमा फर्कनुमा परिवारको माया र आत्मविश्वास नै प्रमुख आधार रहेको बताउँछन् । उनी अहिले सफल फिटनेश कोच पनि हुन्, जससँग नयाँ र इच्छुक खेलाडीहरुले सिक्ने मौका पाउँछन् । २९ वर्षे सुकदेव अभ्यास र अनुसाशन नै सफलताको माध्यम ठान्छन् । अहिले उनी नेपालमै हुन लागेको अन्तर्राष्ट्रिय बडिबिल्डिङ तथा फिटनेस प्रतियोगिता अर्थात् आइएफबीबी लिग नेपालको क्वालिफायर लागि तयारी गरिरहेका छन् । जहाँ १६० भन्दा बढि देशका खेलाडीले सहभागिता जनाउादैछन् । त्यस प्रतियोगितामा सफलता हात पार्छन् या पार्दैनन्, त्यो उनको खेलले बताउँनेछ । तर उनी प्रेरणाको एउटा गतिलो स्रोत भने बनिसकेका छन् ।