सेयरको दोस्रो बजारमा हुने कारोबारमा प्यान नम्बर अनिवार्य

माघ २८, २०७५

सरकारले आगामी बैशाखदेखि सेयरको दोस्रो बजारमा हुने कारोबारमा प्यान नम्बर अनिवार्य गर्दैछ । जसका कारण लगानीकर्तामा थप कर तिर्नुपर्ने हो कि भन्ने भय उत्पन्न भइ नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ । 

दोस्रो बजारमा सेयर खरिद गर्दा प्यान नम्बर अनिवार्य गराउन धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको तीन महिना भयो । बोर्डको निर्देशन कार्यान्वयन गर्न नेप्सेले सेयर ब्रोकर कम्पनीमा पत्र पठाउनुका साथै लगानीकर्ताको भेला नै गरेपछि त्यसको असर नेप्से परिसूचकमा परेको हो । निरन्तर ओरालो लागिरहेको नेप्से प्यान नम्बरको पत्रपछि उकालो लाग्न सकेको छैन । लगानीकर्तामा थप कर असुल्ने रणनीतिस्वरुप प्यान नम्बर अनिवार्य गर्न लागिएको त होइन भन्ने त्रास उत्पन्न भएको छ । अहिले सेयरबजारका लगानीकर्ताले सेयर बेचेपछि नाफा भए ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । यसमा थप करको बोझ थोपर्न लागेको आशंका लगानीकर्ताले गरेका बेला सरकारले भने प्यान नम्बर अनिवार्य गर्न लाग्नुको कारणबारे स्पष्ट पारेको छैन । निर्देशन दिने धितोपत्र बोर्ड नै अस्पस्ट छ । अर्थ मन्त्रालयको निर्देशनमा आफूले निर्देशन दिएको बोर्डको जवाफ छ । निर्देशन दिने निकाय बोर्ड निर्देशन दिनुको कारण नबताएर भाग्न पाउँदैन । उसले लगानीकर्तालाई प्यान नम्बर किन अनिवार्य गर्न लागिएको हो भन्ने बारेमा स्पष्ट पार्नुपर्छ ।