कांग्रेसलाई छायाँ सरकार बनाउनै सकस

माघ २८, २०७५

सरकारविरुद्ध सडक र  सदनबाट खबरदारी गर्न छायाँ सरकार बनाउने घोषणा गरेको नेपाली कांग्रेस फेरि आन्तरिक कलहमा अल्झिएको छ । निर्वाचित भातृसंस्था विघटन गरी आफू निकटलाई टिका लगाउने नेताहरुको होडबाजीले छायाँ सरकारमार्फत खबरदारी गर्ने पार्टी निर्णय नै अलपत्र परेको छ ।

हुन त कांग्रेसले १ वर्षअघि नै छायाँ सरकार बनाउने भनेको थियो । त्यतिबेला  पार्टीको आन्तरिक विवादले त्यो मुद्दा सेलायो । सरकारसँग सम्बन्ध बिग्रिएपछि दुई महिनाअघि फेरि छायाँ सरकार गठनको निर्णय मात्र गरेन,  सांसदहरुलाई आफूले चाहेको मन्त्रालय रोजेर आवदेन दिन नै भन्यो । सांसदहरुले नाम पनि दिए । तर कांग्रेसले छायाँ सरकार गठन गर्नै सकेको छैन । सरकारका गलत कामविरुद्ध खबरदारी गर्ने पार्टी निर्णय कार्यान्वयन गर्न छोडेर नेताहरु अहिले भातृसंस्था गठन–विघटनको खेलमा केन्द्रित छन् । माघ १० गतेदेखि जारी केन्द्रीय समिति बैठकमा म्याद सकिएको निर्वाचित कार्यसमितिको बिकल्पमा नेविसंघमा तदर्थ समिति बनाउने कसरत भइरहेको छ । सुरुदेखि नै कमजोर प्रतिपक्षी बनेको कांग्रेस, केही समय तातेको जस्तो देखिए पनि अहिले फेरि आन्तरिक किचलोमा फसेर सेलाएको छ । शीर्ष नेताले नै  आफू अनुकुल काम नगरेको भन्दै नैनसिंह महर नेतृत्वको कार्यसमिति विघटनको प्रस्ताव गरेपनि नेविस‌ंघको जिम्मेवारी कसलाई दिने भन्ने टुङ्गो लागेको छैन ।  ३२ वर्षे उमेर हद कायम गरिएको नेविसंघमा नेताहरुले विधानविपरीत आफू अनुकुल नेतृत्व ल्याउन खोजिरहेका छन् । यसैको चक्करले छायाँ सरकार बनाएर सरकारलाई खबरदारी गर्ने कांग्रेसको एजेण्डा ओझेलमा परेको छ ।