डीएनएको नमुना संकलनदेखि परीक्षण विधिमै त्रुटी

माघ २८, २०७५

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र  हत्या काण्डमा प्रहरी अझै अपराधीसम्म पुग्न सकेको छैन । राष्ट्रिय मानवअधिकार आयोगले विज्ञ टोलीको अनुसन्धानपछि डीएनए परीक्षणबाट मात्र हत्यारासम्म पुग्न नसकिने बताएपछि प्रहरीसामु अब मानवीय अनुसन्धानबाटै अपराधी पत्ता लगाउनुपर्ने चुनौति देखा परेको छ ।

निर्मलाको बलात्कार पछि हत्या प्रकरणको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टीम मात्रै सक्रिय छैन । तीन महिनादेखि काठमाडौंबाट खटाइएका विभिन्न टिम पनि अनुसन्धानमै छन् । पक्राउ परेकाहरुको डीएनए निर्मलासँग नमिलेर तनाव झेलिरहेको तथा घटनास्थलको विवरणदेखि अनेक पाटो केलाइरहेको प्रहरीलाई राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धानले केही सजिलो बनाइदिएको छ । आयोगको विज्ञ टोलीको अनुसन्धानपछि डीएनएको नमुना संकलनदेखि परीक्षणको विधिमै त्रुटी रहेको निष्कर्षसहित डीएनएमा भर नपर्न सरकारलाई सुझाव दिएको छ । यता प्रहरीसँग रहेको भाजिनल स्वाब भने निर्मलाकै हो भन्ने आमाको नमुना परीक्षणबाट पुष्टि भैसकेको छ । वैज्ञानिक आधारबाट मात्र अपराधीसम्म पुग्न कठिन हुने देखिएपछि प्रहरीले आफ्नो अनुसन्धान फेरि सूचना, घटनास्थलको प्रकृति र अन्य तथ्य खोज्नतर्फ केन्द्रीत गरेको छ । नमुना संकलनदेखि अनुसन्धानमै त्रुटी गर्ने प्रहरी अधिकृत कार्बाहीमा परिसकेका छन् । त्यसैले अब नष्ट भइसकेका प्रमाणमा अल्मलिनुभन्दा निर्दोष नफस्ने गरी निर्मलाको परिवारलाई न्याय दिन सक्नुपर्छ ।