नयाँ मर्यादाक्रममा जनप्रतिनिधिलाई उच्च ओहोदा

पुस २८, २०७५

लोकतन्त्रमा जनतालाई सर्वोपरि मानिन्छ । तर सरकारले निर्धारण गरेको नयाँ मर्यादाक्रममा जनसाधारणको स्थान कहाँ हो, केही उल्लेख छैन । राज्यको ढुकुटीबाट तलब सुविधा लिनेहरुलाई मात्र मर्यादाक्रममा समेटिएको छ । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिलाई २१ समूहमा वर्गीकरण गरी मर्यादाक्रम तोकेको छ । 

सरकारले मर्यादाक्रम फेरबदल गर्दै सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई प्रधान्यायाधीश सरह चौथो तहमा राखेको छ ।

मर्यादाक्रममा व्यक्ति विशेषलाई हेरेर समेत स्थान निर्धारण गरिएको छ । तीन वर्ष पहिले विघटन भइसकेको संविधानसभाका तत्कालीन अध्यक्षका लागि सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र पूर्वन्यायाधीश सरह चौथो तहमा राखिएको छ । यति मात्र होइन, मर्यादाक्रममा काठमाडौं र अन्य महानगरपालिकाका प्रमुखबीच विभेद सिर्जना गरिएको छ । काठमाडौंका प्रमुखलाई मुख्यसचिव र प्रधानसेनापति सरह नवौं र अन्य महानगरका प्रमुखलाई १० औं तहमा राखिएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति र विश्वविद्यालयका उपकुलपतिलाई ११ औं तथा प्राध्यापकजस्ता प्राज्ञिक अोहोदाका व्यक्तिहरूलाइ १२ औं नम्बरमा राखेर प्राज्ञिक क्षेत्रलाइ कम आँकेको टिप्पणी भएका छन् । जिल्लामा संघीय सरकारको प्रतिनिधित्व गर्ने प्रमुख जिल्ला अधिकारीलाई गाउँपालिका अध्यक्ष भन्दा एक तह तल राखिएको छ । 

यसले जिल्लामा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रशासक र जनप्रतिनिधिबीच मर्यादाकै कारण द्वन्द्व उत्पन्न हुन सक्नेछ ।