१० प्रतिशत धनीस‌ंग ४० प्रतिशत गरिब जनसंख्यासँग रहेकोभन्दा २६ गुणा बढी सम्पत्ति

पुस २८, २०७५

धनी र गरिबबीचको असमानता त विश्वव्यापी रुपमै बढ्दै छ । विश्वका १ प्रतिशत धनी व्यक्तिसँग बाँकी ९९ प्रतिशतकोभन्दा बढी सम्पत्ति छ । नेपालमा १० प्रतिशत धनीसँग कम सम्पत्ति भएका ४० प्रतिशत जनसख्ंयाकोभन्दा २६ गुणा बढी सम्पत्ति रहेको अध्ययनले देखाएको छ । मुलुकको करिब एक तिहाई कृषियोग्य जमिन ७ प्रतिशत धनी परिवारको हातमा छ । गरिब र धनीबीचको सम्पत्ति र दैनिक आयको खाडल पनि दिनदिनै बढ्दै छ । २०६० सालपछिको दशकमा सबैभन्दा बढी कमाउने ५ प्रतिशतले मात्र अत्यधिक सम्पत्ति जोडेको, बााँकी सबैको आम्दानी घटेको प्रतिवेदनले देखाएको छ । विज्ञहरु धनी र गरिबबीचको आय र सम्पत्तिको खाडल बढ्दै जानुमा सरकारी नीतिलाई दोषी ठान्छन् ।

प्रतिवेदन अनुसार नेपालका सबैभन्दा धनी एक जना व्यक्तिको सम्पत्ति गत एक वर्षमा मात्रै २० अर्बले बढेर डेढ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ । यो वृद्धि भएको रकमले मात्र सिंगै मुलुकको सामाजिक सुरक्षामा हुने खर्चको आधा हिस्सा धान्न सक्छ । अझ औसत नेपालीलाई यति रकम कमाउन एक लाख वर्षभन्दा बढी समय लाग्ने अध्ययनले देखाएको छ ।

यस्तो खाडल हटाउनका लागि गरिब, किसान र भूमिहिनलाई फाइदा पुग्ने गरि न्यायोचित भूमि पुनर्वितरण र कर प्रणालीमा सुधार गर्नुपर्ने विज्ञहरुको सुझाव छ   । 

मुलुकको ८१ लाख जनसंख्या गरिबीको रेखामुनि छ । पाँच वर्ष मुनिका एक तिहाइ बालबालिका उचित आहारा नपाएर शारीरिक समस्या झेलिरहेका छन् । १० प्रतिशत त अत्यधिक कुपोषणबाट ग्रस्त छन् । यो चरम असमानताले धनी र शक्तिशाली व्यक्तिलाई नीति निर्माणमा अनुचित प्रभाव पारी आफ्नो स्वार्थअनुसार मोड्ने अवसर मात्र प्रदान गरेको छैन, राजनीतिलाई समेत विकृत पारिरहेको अध्ययनको निष्कर्ष छ ।