प्रधानन्यायाधीश र मन्त्रीबीच आरोप प्रत्यारोप

पुस २८, २०७५

मञ्चको सबैभन्दा अगाडि लहरको एक छेउमा महान्यायधिवक्ता अग्नि खरेल, अर्को छेउमा नेपाल बार एशोसिएशनमा अध्यक्ष शेरबहादुर केसी । सर्वोच्च अदालत बारले प्रधान न्यायाधीश राणाको स्वागतमा आयोजना गरेको कार्यक्रमको दर्शकदीर्घातिर न्यायाधीशहरुको लहर । सबैको केन्द्रमा थिए प्रधान्यायाधीश राणा ।

न्यायालयको नेतृत्व सम्हालेका राणालाई तिर हान्ने एउटा सबैभन्दा गतिलो मञ्च बन्यो शुक्रबार । न्यायालयको गिर्दो साख र भ्रष्टाचारका विषयलाई लिएर वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेले पृथ्वीजयन्तीको सन्दर्भ जोडेर व्यंग्य कसे । बारका अध्यक्ष शेरबहादुर केसीले भने संसदीय सुनुवाइबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारीविहीन बनाइएकोप्रति आक्रोश पोख्ने मञ्चको रूपमा प्रयोग गरे । 

बोल्ने पालो आयो महान्यायधिवक्ता अग्नि खरेलको । अदालती भ्रष्टाचारको प्रसंग कोट्याउँदै आफ्ना संस्थाभित्रको भ्रष्टाचारको जिम्मेवारी नेतृत्वले लिनुपर्नेतर्फ सचेत गराए । बार अध्यक्ष केसीले न्यायाधीश दिपकराज जोशीका विषयमा उठाएको प्रसंगमा महान्यायधिवक्ता खरेलले गीतको टुक्राबाट जवाफ फर्काए । 

कानुन मन्त्री भानुभक्त ढकाल पनि के कम ? विगतमा संसदीय सुनुवाइ समितिमा आफ्नै पार्टीले विपक्षमा मतदान गरेको विषय प्रधानन्यायाधीश राणालाई स्मरण गराए ।   

भ्रखर मात्रै प्रधानन्यायाधीशको जिम्मेवारी पाएका चोलेन्द्रका लागि पनि जवाफ दिने यही मञ्च उपयुक्त थियो । 

चार वर्ष न्यायालयको नेतृत्व गर्ने जिम्मेवारी पाएका प्रधान्यायधीशले  न्यायको पक्षमा चाल्ने कदमले उनको भावि दिन देखाउने छ भने राजनीतिक नेतृत्वले दिने स्वतन्त्रताले न्यायालयको भविष्य निधारण गर्ने छ ।